के हो ब्रिटिश कलेज विवाद? दुबईमा विद्यार्थी अलपत्र नपारेको कलेजको दाबी

काठमाडौँ । द ब्रिटिश कलेजले दुबईमा विद्यार्थीहरूलाई अलपत्र नपारिएको जानकारी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै इन्टर्नसिपका लागि गएका करिब ५१ जना विद्यार्थीहरू मध्ये ९ जना विद्यार्थीहरू व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएको कलेजले जानकारी दिएको हो ।

गत पौष ८ गते कलेजमा भर्ना नभएका विद्यार्थी र सङ्घको नाम प्रयोग गर्दै आएका बाह्य समूहका केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गर्दै द ब्रिटिश कलेजमाथि शोषण वा मानव तस्करी गरेको आरोप लगाइएको थियो ।

साथै कलेजको कार्यालयमा तोडफोड गर्ने, तथा शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्यहरू गरिएको थियो ।

यद्यपि कलेजले यस विषयमा खण्डन गर्दै विज्ञप्तिमा भनेको छ ‘द ब्रिटिश कलेजमाथि लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोपहरूलाई कलेज पूर्ण रूपमा अस्वीकार गर्दछ। यस्ता आरोपहरू पूर्णतः असत्य, आधारहीन र मानहानिपूर्ण रहेका छन्। शिक्षण संस्था जस्तो प्रतिष्ठित र जिम्मेवार संस्थामाथि यस्ता भ्रामक र अपुष्ट आरोप लगाइनु निन्दनीय कार्य हो।’

कलेजका अनुसार विद्यार्थीहरूको व्यावसायिक सीपहरू विकासको लागि इन्टर्नसिपको अवसर प्रदान गरिन्छ । तथापि इन्टर्नशिपको ग्यारेन्टी गरिँदैन र सो कुरा विद्यार्थीहरूलाई भर्ना पूर्व नै स्पष्ट रूपमा जानकारी गराइएको हुन्छ ।

दुबई जाने विद्यार्थीहरूलाई प्रारम्भिक आगमन र बसोबास सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायक मार्फत अस्थायी आवासको व्यवस्था हुन्छ । यी व्यवस्था छोटो अवधिका लागि मात्र हुने कुरा स्पष्ट रूपमा जानकारी गराइएको तथा सम्झौतामा उल्लेख गरिएको थियो । उक्त प्रारम्भिक अवधिपछि विद्यार्थीहरूले आफ्नो दीर्घकालीन आवासको व्यवस्था आफैँ गर्नुपर्ने हुन्छ, जुन अन्तर्राष्ट्रिय अध्ययन तथा आवागमनका सामान्य अभ्यास अनुसार रहेको कलेजले बताएको छ ।

कुनै पनि अवस्थामा विद्यार्थीहरूलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र नपारिएको कलेजले स्पष्ट पारेको छ । यसबारे गरिएका सबै दाबीहरू पूर्ण रूपमा झुटो, असत्य, भ्रामक र तथ्यहीन भएको जानकारी दिएको छ ।

के हो विवाद ?

कलेजका अनुसार करिब ५१ जना Hospitality Management विद्यार्थीहरू मध्ये ९ जना विद्यार्थीहरू व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएका थिए । उक्त विद्यार्थीहरूलाई इन्टर्नशिपको अवसर प्रदान गरिएको थियो, जसको सुरुवात डिसेम्बर १, २०२५ बाट हुने तय गरिएको थियो। विद्यार्थीहरू नेपाल फर्किएपछि कलेजले विद्यार्थी तथा अभिभावकहरूसँग तुरुन्तै औपचारिक परामर्श प्रक्रिया सुरु गर्यो ।

छलफलहरू पारदर्शी, सम्मानजनक र रचनात्मक वातावरणमा सम्पन्न गरिएका थिए। उक्त छलफलहरू आपसी समझदारी तथा अभिभावकका सुझावहरू अनुरूप अगाडि बढाइएका थिए। त्यस समयमा सम्बन्धित अभिभावक तथा फर्किएका विद्यार्थीहरू सन्तुष्ट रहेको प्रतिक्रिया प्राप्त भएको थियो। समस्या सकारात्मक संवादमार्फत समाधानको दिशातर्फ अघि बढिरहेको अवस्था थियो।

तर मंसिर २३ दिन केही HM विद्यार्थीहरूले कलेजको पूर्व अनुमति र स्वीकृति बिना प्रत्यक्ष छलफलको क्रममा सामाजिक सञ्जालमा सामग्री प्रसारण गरेका थिए। पौष ७ मा, अभिभावकहरूसँग छलफल भइसकेको अवस्थामा पनि, बाह्य संस्थासँग सम्बन्धित केही व्यक्तिहरूले विद्यार्थीको समर्थनको नाममा परिस्थिति अशान्त बनाउने प्रयास गरेको कलेजले जानकारी दिएको छ ।

कलेजले यस क्रममा भ्रामक पर्चाबाजी, उक्साउने गतिविधि, तथा कर्मचारीहरू विरुद्ध आधारहीन आरोप लगाइएको र केही कर्मचारीहरूलाई दुर्व्यवहारसमेत गरेका आरोप लगाएको छ ।

पौष ८ मा, समस्या समाधानका प्रयास जारी रहँदा पनि, हाल कलेजमा भर्ना नभएका व्यक्ति तथा विद्यार्थी सङ्घको नाम प्रयोग गर्दै आएका बाह्य समूहका केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गरेका थिए । साथै, सामाजिक सञ्जालमार्फत अपुष्ट तथा दोषपूर्ण आरोपहरू फैलाउने, कलेजको कार्यालयमा तोडफोड गर्ने, तथा शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्यहरू गरिएको थियो।

कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवाद गर्न धेरै पटक औपचारिक प्रयास गरेको थियो । साथै तीन पटकभन्दा बढी औपचारिक बैठकमा सहभागी हुन आमन्त्रण गरिएको थियो । तर विद्यार्थीहरूले बैठकमा उपस्थित भई संवाद गर्न अस्वीकार गर्दै अनधिकृत गतिविधिमा संलग्न हुने बाटो रोजेको कलेजले जानकारी दिएको छ ।

कलेज यस अवस्थाले कलेजका विद्यार्थी तथा कर्मचारीहरूमा असहज परिस्थिति सिर्जना भएको बताएको छ । कलेजको सुरक्षा तथा शैक्षिक वातावरण सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न सुरक्षानिकायको सहयोग लिनुपर्ने अवस्था सिर्जना भएको जानकारी दिएको छ ।

शैक्षिक गतिविधिको निरन्तरता र अभिभावकलाई ब्रिटिश कलेजको आश्वासन

कलेजले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रमहरू नियमित तथा निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको स्पष्ट पारेको छ । यस क्रममा पठनपाठन, मूल्याङ्कन तथा परीक्षाहरू सम्बन्धित शैक्षिक क्यालेन्डरअनुसार नै सञ्चालन हुने जानकारी दिएको छ ।

हाल कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको र शैक्षिक गतिविधिमा कुनै अवरोध नरहेको भन्दै यस विषयमा कुनै पनि दुबिधा वा भ्रमको अवस्था नरहेको स्पष्ट पारेको छ ।

कलेजले अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई अपुष्ट, भ्रामक वा तथ्यहीन सूचनामा विश्वास नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =