सुदूरपश्चिममा बन्दै पहिलो ५ तारे होटल

काठमाडौँ । Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

आज पौष ८ गते काठमाडौँस्थित Holiday Inn Resort, Budhanilkantha मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त सम्झौतामा क्लब चौलानी लिमिटेडतर्फबाट अध्यक्ष डा.राजेन्द्र के. सी. र IHG Hotels & Resorts का दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका थिए ।

आयोजित प्रेस मिटमा CA दीपक पाण्डेले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिएका थिए । सोही कार्यक्रममा परियोजनासँग सम्बन्धित IPO निष्कासन तथा बिक्री प्रबन्धकका लागि Garima Capital लाई प्रबन्धकको रूपमा नियुक्त गरिएको थियो ।

धनगढीमा निर्माण हुन लागेको Holiday Inn by IHG, Dhangadhi सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुने बताइएको कम्पनीले जानकारी दिएको छ ।

होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् । प्रमुख सुविधाहरूमा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् ।

परियोजनाको कुल लगानी रु. २२० करोड रहेको छ, जसमा करिब ६५ प्रतिशत (रु. १४३ करोड) बैंक ऋण र ३५ प्रतिशत (रु. ७७ करोड) प्रवर्द्धकहरूको स्व–पुँजीमार्फत व्यवस्थापन गरिने कम्पनीले जानकारी दिएको छ ।

रोजगारीको हिसाबले क्यासीनोमा ६ सयभन्दा बढी र होटलमा २ सय भन्दा बढी स्टाफ हुनेछन् । कम्पनीले हाल उक्त होटलको ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएको छ भने गरिमा क्यापिटलबाट आगामी एक देखि डेढ वर्षमा आईपिओ निष्कासन गरी सकिने बताइएको छ ।

धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक९सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठुलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ । धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जइसनको रूपमा विकसित हुँदै गएको छ र महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ ।

Holiday Inn Dhangadhi परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यावसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको कम्पनीको भनाई छ । यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरिएको बताइएको छ । होटल २०८४ सालको सुरुबाट सञ्चालनमा आउन अपेक्षित छ ।

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास र क्षेत्रीय पर्यटन, व्यावसायिक विकास तथा आर्थिक प्रगतिमा महत्त्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =