सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’ को अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ । पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।

यो सिनेमालाई सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया मिलेको छ । २ घण्टा १९ मिनेट लम्बाईको सिनेमाले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो सन्देश समेत दिने बुझाई उनीहरुको थियो ।

हालै नेपालमा घटेको वास्तविक कथावस्तुको झल्को दिएको सिनेमाले गहन विषयवस्तुलाई सुक्ष्म ढंगले देखाएको भन्दै तारिफ गरेको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

यो सिनेमामा समावेश काठमाडौं कमानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको गत सोमबार सार्वजनिक गीत ‘आम नेपाली बुबा’ले दर्शकमाझ उच्च हाइप बनाएको छ । जसको प्रभाव बक्सअफिसमा देखिने अपेक्षा निर्माण टिमको छ ।

आगामी शुक्रबार रिलिज हुने सिनेमा सेन्सर पास भएसँगै यो सिनेमाको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ । यो समाचार तयार पार्दासम्म देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज लगायतक हलले अग्रीम टिकट बुकिङ खुल्ला गरेका हुन् ।

सुरुवाती चरणमा यो सिनेमालाई क्युएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा ११ शोसहित २२ शो दिएको छ । यता, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले ६ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाले २ शोसहित देशभर करिब ५९ शोमा अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् । अन्य हलमा भने बुकिङ खुल्ने चरणमा भएकाले भोली बिहीबार साँझसम्म फाइनल शो आउनेछ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =