ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु

काठमाडौँ । स्वदेशी उत्पादन प्रवर्द्धन गर्न वृहत् ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी शुरु भएको छ ।
ललितपुरस्थित अन्तर्राष्ट्रिय क्लबमा शनिवार एकदिने स्वदेशी बजार शुरु भएको हो । प्रदर्शनीमा साना, मझौला तथा घरेलु उद्योगहरूको ४० वटा भन्दा बढी स्टल राखिएको छ ।
प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगको सहभागिता रहेको छ ।
प्रदर्शनीले नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्याउने आयोजकले जनाएको छ ।
नेपाल उद्योग परिसंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार आयोजना गरेको हो ।








