मानव अधिकार चलचित्र महोत्सवमा ढुंगानाको ग्रामीण दैनिकी केन्द्रित फोटो प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं । फोटो पत्रकार दीपेन्द्र ढुंगानाले ग्रामीण महिलाको दैनिकी र घरायसी श्रमलाई केन्द्रबिन्दु बनाएर खिचेको १८ तस्बिरहरू १३ औँ मानव अधिकार चलचित्र महोत्सवमा प्रदर्शनीका लागि राखिएको छ ।

नेपाल मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवअन्तर्गत ढुंगानाका तस्बिरहरू प्रदर्शनीमा राखिएको हो ।

सामाजिक विषयवस्तु र जोखिमपूर्ण अवस्थाका घटनालाई निरन्तर क्यामेरामा कैद गर्दै आएका ढुंगाना गत २३ भदौमा ‘जेनजी आन्दोलन’को रिपोर्टिङका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि गोली लागेर घाइते भएका थिए ।

मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायका विषयमा सक्रिय ढुंगानाले पछिल्ला वर्षमा ग्रामीण श्रम र महिलाको भूमिकामाथि पनि ध्यान केन्द्रित गर्दै आएका छन् ।

यसपटकको प्रदर्शनीमा उनले काभ्रेको भुम्लु गाउँपालिका–१ की ३१ वर्षीया राधिका पहरी र उनको परिवारको दैनिकीलाई तस्बिर मार्फत प्रस्तुत गरेका छन् ।

बिहान उठ्ने बित्तिकै दैलो पोत्ने, पशु–चौपायालाई कुडो बनाउने र खुवाउने, बालबालिकाको हेरचाह गर्ने, स्कुल पठाउनेदेखि घाँस–दाउरा र घरायसी कामकाज सम्म महिला दिनभर व्यस्त रहने यथार्थ उनको तस्बिरमार्फत देख्न सकिन्छ ।

ढुंगानाका अनुसार ग्रामीण महिलाले बिहानदेखि बेलुकीसम्म गर्ने श्रम औपचारिक अर्थतन्त्रमा गणना नहुने र समाजले यसको मूल्याङ्कन नगर्ने भएकाले यस विषयलाई उठान गर्न उनले फोटो स्टोरी तयार पारेका हुन्।

‘शहरका मानिस कार्यालय जान तयार हुँदासम्म ग्रामीण महिलाले आधा दिनको काम गरिसकेका हुन्छन्। घरायसी श्रमको सम्मान र मूल्याङ्कन हुन आवश्यक छ,’ ढुंगानाले बताए ।

उनले खिचेका तस्बिरहरू मंसिर २९ गतेसम्म चलचित्र विकास बोर्डमा प्रदर्शनीमा राखिनेछ ।

तस्बिरहरुः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =