हेटौंडामा शिवम् सिमेन्टद्वारा १०४ छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान

काठमाडौं । सामुदायिक विद्यालयमा छात्राको संख्या घट्दै गएको पृष्ठभूमिमा हेटौंडास्थित शिवम् सिमेन्ट लिमिटेडले छात्रा शिक्षालाई प्रोत्साहन गर्न उल्लेख्य योगदान दिएको छ ।
कम्पनीले हेटौंडा–१७ हटियास्थित उद्योग प्रभावित क्षेत्रको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रालाई चालू शैक्षिक सत्रको लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
मंगलबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा कम्पनीले आठ महिनाको सम्पूर्ण शुल्कबापतको रकम विद्यालयलाई हस्तान्तरण गरेको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै छात्रालाई यो छात्रवृत्ति उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा हेटौंडा वडा नं. १७ का जनप्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकसहित अभिभावक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा पु¥याएको यो सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरणमा ठूलो टेवा पुग्ने बताए ।
उनले शिवम् सिमेन्टलाई धन्यवाद दिँदै आगामी शैक्षिक सत्रदेखि पूर्ण वर्षभरि नै छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह गरे ।
सन् २०६८ मा स्थापना भएको शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको छ । यसअघि कम्पनीले विद्यालयमा कम्पाउन्ड वाल निर्माण, स्कुल बस व्यवस्था, कम्प्युटर, प्रिन्टरलगायत शैक्षिक सामग्री प्रदान गरेको थियो ।
कम्पनीका प्रतिनिधिले यो छात्रवृत्तिले छात्राको पठनपाठनमा देखिएको आर्थिक बोझ हटाउने र विद्यालयमा छात्रा भर्ना तथा नियमितता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सामुदायिक विद्यालयमा पछिल्लो समय छात्रा संख्या घट्दै गएको अवस्थामा निजी क्षेत्रको यस्तो पहलले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन् ।








