रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो: कुलमान घिसिङ

काठमाडौँ । भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताएका छन् ।

मङ्गलवार पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताएका हुन् ।

उनले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिए । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो । घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाइ पनि कारबाही गरिनुपर्ने बताए । बजेट खर्च गराउने काममा अर्थमन्त्रालय, विभागीय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

मन्त्री घिसिङले भने ‘एउटा प्रोजेक्ट म्यानेजर आउँछ । त्यसले निर्णय नै नगरेर स्केप हुने, अर्को प्रोजेक्ट म्यानेजर आउँछ उसले पनि निर्णय नगर्ने उसले पनि स्केप गर्ने त्यस्तालाई पनि कारबाही गर्नुपर्छ । जसले निर्णय गर्दैन, कामै गर्दैन त्यस्तालाई कारबाही गर्नुपर्छ । छानबिन गरेर कारबाही गर्नुपछ । नत्र भने त कसरी प्रोजेक्ट बन्छ । प्रोजेक्ट बन्दै बन्दैन । निर्माण व्यवसायीको तर्फबाट हेर्दा करिब २०० ठेक्का रुग्ण रहेको पाइयो । हाम्रो तर्फबाट हामीले बजेट दिन नसकेको यी सबै कारणले पनि धेरै प्रोजेक्टहरू रुग्ण छन् । त्यसलाई हामीले दण्डित गरेका छैनौँ । त्यो पनि छानबिनको दायरामा आउनुपर्छ । त्यो पार्ट अझै बाँकी छ । रुग्ण आयोजनाहरू ठेकदारका कारणले मात्रै अलपत्र परेको होइन अरू पनि कारण छन् त्यसलाई पनि हामीले छानबिनको दायरामा ल्याउनुपर्छ । होइन एउटा जिम्मेवार प्रोजेक्ट म्यानेजरले जिम्मेवारी नलिने, निर्णय नलिने, आफ्नो पालामा केही पनि नगर्ने प्रवृत्ति बढ्छ । अहिले अख्तियारले पनि निर्णय नगर्नेलाई पनि कारबाही हुनुपर्छ भनेको छ । त्यसैले निर्णय नगर्नेलाई कारबाही हुनुपर्छ । समयमा निर्णय नलिँदा कति बेफाइदा भयो हेर्नुपर्छ । ४३ करोड घाटा भयो विद्युत् प्राधिकरणलाई भनेर आयो । ४३ करोड थिएन् २१ करोड जति घाटा थियो । समयमा निर्णय नगरेपछि अर्को कोटेसन माग्नुपर्यो । तत्कालीन समयमा तत्कालीन कार्यकारी निर्देशकले निर्णय नगर्दा त्यो भएको हो । एकमहीनाभित्र कोटेशन मागेपछि एक महिना भित्रै निर्णय गर्नुपर्यो नि । आफू निर्णय नगर्ने अनि त्यसको जिम्मेवारी अरूलाई बोकाउने काम गर्नु हुँदैन । त्यसैले निर्णय एकदमै महत्त्वपूर्ण छ ।’

मन्त्री घिसिङले निर्माण व्यवसायीहरूमा पनि धेरै समस्या रहेको बताए । उनकाअनुसार निर्माण व्यवसायीले धेरै कनट्र्याक्ट ज्वाइन्ट भेन्चरमा दिन्छन् । त्यसरी दिनु राम्रो भएपनि परिणाममुखी काम भने हुन सकेको छैन । घिसिङले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कनट्र्याक्ट समिट गर्न जरुरी रहेको बताए ।

कन्ट्याक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरूको प्रगति कमजोर भइरहने उनको भनाइ छ ।

उनले भने ‘ठेकदारहरू अब एकदमै क्षमता बढाएर आउनुपर्छ । धेरै ठेकदारको क्षमतामा समस्या छ । ठुलठुला कन्ट्याक्टरहरुले अरू साथीहरूलाई ल्याउनुहुन्छ जिम्मा लगाउनुहुन्छ, कामै हुँदैन । अब डुब्नै लाग्यो भनेपछि आफैँ काम गर्नुपर्छ । उहाँहरूलाई पनि घाटा नै छ । मैले देखिरहेको छु धेरै साथीहरूको आफैँले पिकअप समेत गर्नुभएको छ । करोडौँ घाटा खाएर काम गर्नुभएको छ ।’

मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =