ललितपुर महानगरका सबै संरचना अपाङ्गमैत्री छन् : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरमा पछिल्लो समय निर्माण गरिएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरले बनाएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको दाबी गरेका हुन् ।
उनले वडा कार्यलय भवन, विद्यालय भवन, स्वास्थ्य चौकी, पार्क लगायतका जे जति संरचना निर्माण भएका छन्, ती सबै नै अपाङ्गमैत्री रहेको बताए ।
उनले भौतिक संरचनासँगै महानगरले बनाउने निती नियमहरुपनि अपाङ्गमैत्री बनाएको जानकारी दिए ।
उनले गतवर्ष अपाङ्ग दिवसको अवसरमा ५६२ जना अपाङ्गता भएका व्यक्तिहरुले पाटन दरबार क्षेत्रको ह्वीलचियरमा बसेर अवलोकन गरेको स्मरण समेत गरे ।
उनले ललितपुर महानगरले नेपालमा नै पहिलो पटक अपाङ्गमैत्री गाडी सञ्चालनमा ल्याएको पनि जानकारी दिए । तर त्यो गाडी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीहरुले जलाईदिएको उनले गुनासो गरे ।
उक्त गाडीमा भएको मेकानिकल लिफ्टिङले ह्वीलचियरमा बसेर अपाङ्गता भएका व्यक्तिहरु सहजै यात्रा गर्न सक्ने थिए ।
उनले महानगरले जलाइएको भन्दा अझ स्तरीय अपाङ्गतामैत्री गाडी किन्नको लागी टेण्डर प्रक्रिया शुरु गरिएको पनि जानकारी दिए । त्योसँगै दुई वटा दमकल पनि किन्न लागिएको उनले बताए ।








