फेरि पनि ओली नेतृत्वमा गोलबन्ध हुने कुरालाई नमान्नुपर्ने कुनै कारण छैन : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका बेला उनले ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरालाई मान्न नहुने कुनै कारण नरहेको प्रतिक्रिया दिएका हुन् ।
प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीको आसन्न ११ औ महाधिवेशनमा सहमतीका साथ टुंगिने दाबी समेत गरे ।
अध्यक्ष ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण आफूले नदेखेको उनको जिकिर थियो ।
उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे ।
उनले पार्टी, आन्दोलन र मुलुकको नेतृत्व गरिरहेकाले ओलीनै पार्टीको नेतृत्वमा उपयुक्त हुने तर्क पनि गरे ।
उपाध्यक्ष पौडेलले एमालेले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए ।








