प्रधानमन्त्री कार्कीले हटाइन् सचिवालयका १४ सदस्य, ६ जनामा सीमित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा देखिएको नातावादसम्बन्धी विवादलाई मध्यनजर गर्दै सचिवालयको संरचना ठूलो मात्रामा परिमार्जन गरेकी छन् ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्त गराएको समाचार बाहिरिएपछि उठेको प्रश्नका कारण प्रधानमन्त्रीले बुधबार सचिवालयमा गरिएको नियुक्ति संख्यामा कडाइका साथ कटौती गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार अब प्रधानमन्त्रीको सचिवालयमा ६ जनामात्रै रहनेछन् । नयाँ संरचना अनुसार सचिवालयमा मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहने छन् ।

विगतका प्रधानमन्त्रीहरूले ६६ जनासम्मको सचिवालय राख्ने गरेका भए पनि यो सरकारले सचिवालयलाई न्यूनतममा झार्ने नीति लिएको जनाएको छ । प्रारम्भिक रूपमा २० जनामा सीमित गरिएको सचिवालयलाई हाल घटाएर ६ जनामा झारिएको छ । यसअनुसार १४ जनाको नियुक्ति खारेज गरिएको हो ।

सबैभन्दा बढी चर्चा भएको विषय प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसम्बन्धी थियो । उनकी पत्नी संगीता श्रेष्ठ र नातेदार कमला श्रेष्ठ दुबैलाई सचिवालयबाट हटाइएको छ । दुबै जनालाई स्वकीय सहसचिवस्तरको सेवा सुविधा दिइएको आरोप लागेको थियो ।

त्यसैगरी सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल, युवा तथा सामाजिक विकास विज्ञ प्रदिप ज्ञवाली, स्वकीय शाखा अधिकृत रमेशराज दाहाल, अर्जित खड्का र आकृति घिमिरेलाई पनि पदमुक्त गरिएको छ ।

प्रशासन सहायकहरू सृष्टी डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ र रविना श्रेष्ठ पनि सचिवालयबाट हटाइएका छन् ।

यस्तै, सवारी चालक हरिबाबु श्रेष्ठ र मिरा अधिकारीलाई समेत जिम्मेवारीबाट मुक्त गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =