अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ ।
नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी सी–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको हो । भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने छ । विभिन्न स्थानमा कटिङसँगै पुनः विस्तारको काम सुरु भएको हो ।
निर्माणमा आएको ढिलासुस्तीका कारण तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बनेको छ । भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै सडक पुनः विस्तार गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यलयले पुरानो ठेक्का रद्द गरेको साढे चार महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमा सक्नेमा आशावादी भएको योगेशको भनाइ छ । उहाँका अनुसार उक्त सडक तोकिएको समयमा सम्पन्न नभएपछि कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरे लगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका छन् ।
उक्त मुद्दा गत असार २५ गते खारेज भई अदालतको आदेशअनुसार पुनःठेक्का खोल्ने प्रक्रिया अघि बढाइएको सनियर डिभिजनल इञ्जिनियर योगेशले बताए । ‘त्यतिबेला कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो र विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगेका थियौँ । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो’, उनले भने ।
अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा यो मार्ग प्रयोग हुन्छ । उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।
जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको सडक विस्तारका लागि वि.सं २०८० चैत १९ गतेभित्र सम्पन्न गर्नेगरी वि.सं २०७९ जेठ २० गते २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का सम्झौता भएको थियो ।
हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेनवाल लगाउने काम भएको छ । जिपलाइन स्थानबाट तल खावासम्मको सडक मात्रै भत्काइएको जनाउँदै योगेशले एक किमी भागमा कटिङ बाँकी रहेको बताए ।
वि.सं २०८१ जेठमा धुलिखेलतर्फबाट वेस, सव–वेस हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो । निर्माणमा आलटाल गर्दै आएकाले समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशत मात्र काम सकेको थियो ।
समयमा काम नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटर फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको वेस हाल्ने तथा दुई चरणमा डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ ।








