फागुन २१ को निर्वाचनमा सबै दल सहभागी हुन्छन् : मन्त्री खरेल

चरिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने दाबी गरेका छन् । गृह जिल्ला दोलखाको कालिञ्चोक आइपुगेका मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक वातावरण बनिसकेको जिकिर गरेका हुन् ।
आइतबार कालिञ्चोक-८ सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयद्वारा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले सरकारको मुख्य अर्जुनदृष्टि निर्वाचन नै भएको बताए । उनले भने, ‘हाम्रो मुख्य लक्ष्य निर्वाचन हो र यसका लागि सरकार पूर्ण रूपमा तयार छ । सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदै छन् । सरकारले निष्पक्ष वातावरण बनाउँछ भन्ने सन्देश देशभर फैलाउन जरुरी छ ।’
सरकारका प्रवक्तासमेत रहेका खरेलले वर्तमान सरकार ‘जेनजी आन्दोलन’ को जगमा बनेको स्मरण गर्दै आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले जेनजी आन्दोलनको भावना विपरीत हुने कुनै पनि कार्य सरकारलाई सह्य नहुने चेतावनी दिए । भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्ने सवालमा सरकारले कुनै सम्झौता नगर्ने उनको भनाइ थियो । उनले भने, ‘छ महिनाभित्रै नागरिकले अनुभूति गर्ने गरी सुशासनको काम गरेर देखाउँछौँ ।’
मन्त्री खरेलले विगतमा देशमा स्थिर सरकार नबन्दा र दलहरूबीचको अस्वस्थ सत्ता-प्रतिस्पर्धाका कारण शिक्षा क्षेत्र र समग्र विकासमा गम्भीर असर परेको बताए । ‘अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,’ उनले भने ।
आइतबार दोलखा पुगेका सञ्चारमन्त्री खरेललाई स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका थिए । जिल्ला प्रवेश गरेलगत्तै उनले आफ्नो जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका थिए । कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवार बनाएको बताए । यसै क्रममा उनले कालिञ्चोक गाउँपालिका कार्यालयको निरीक्षण गर्नुका साथै वडा नम्बर ७ मा आयोजित कार्यक्रममा पनि सहभागिता जनाए । सोही क्रममा मन्त्री खरेलले आफ्नो जन्मघर पुगी जिल्लाकै ज्येष्ठ नागरिक (१०२ वर्ष) सँग आशीर्वाद लिएका थिए ।








