सिमरा तनाव : वार्ताका लागि ‘जेनजी’ अगुवा सुदन गुरुङ पुगे बारामा

बारा । सिमरामा उत्पन्न तनावपूर्ण स्थितिलाई साम्य पार्न तथा स्थानीय प्रशासनसँग वार्ता गर्न ‘जेनजी’ अभियानका अगुवा सुदन गुरुङ बारा आइपुगेका छन् । गत बुधबार बाराको सिमरामा जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जिल्लामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आउने क्रममा जेनजी समूहले विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।
झडपपछि जेनजी समूहले एमाले कार्यकर्तामाथि कानुनी कारबाही हुनुपर्ने माग अघि सारेको छ । स्थानीय प्रशासनले पटक-पटक वार्ताको पहल गरे पनि आन्दोलनरत पक्षले आफ्ना अगुवा सुदन गुरुङको उपस्थितिबिना वार्तामा नबस्ने अडान लिएका थिए । सोही मागलाई सम्बोधन गर्दै प्रशासनसँग संवाद गर्न गुरुङ बारा आएका हुन् ।
उनले स्थानीय प्रशासनसँग छलफल गरेर समस्याको निकास खोजिने बताए ।








