पार्टी छोडेर जाँदैमा रास्वपाले कसैको खेदो खन्दैन: मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नख्खु कारागारमा गएर पार्टी सभापति रवि लामिछानेलाई नभेटेको भन्दै पार्टीका पूर्वनेता सन्तोष परियारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टीका पूर्वनेता परियारले एक अन्तर्वार्ताका क्रममा भेट्ने समय नमिलेर लामिछानेलाई नभेटेको प्रतिक्रिया दिएसँगै प्रवक्ता झाको यो अभिव्यक्ति आएको हो । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सल्लाह गरेर जान सकिने भएनपनि परियारले त्यसो नगरेको भन्दै गुनासो गरे ।
धनगढी, रुपन्देहीको कारागारमा भएको भए छुट्टै कुरा हुने भन्दै उनले चार किलोमिटर टाढा रहेका सभापतिसँग भेट्न नगएको बताए । रास्वपा पार्टी छोडेर जाँदैमा खेदो खन्ने पक्षमा नरहेको पनि स्पष्ट पारे ।
उनले भने ‘के गरौँ म भनेर सल्लाह गर्न सकिन्थ्यो । त्यो आवश्यक ठान्नुभएन । रुपन्देहीमा, धनगढीमा भएको अर्को कुरा । तर चार किलोमिटर टाढा हुनुहुन्छ । उहाँ जानुभएन । भेट्नुभएन । पार्टीका उपसभापति डा। स्वर्णिम वाग्ले हिजोमात्रै गएर साढे तीन घण्टा भेटेर निस्किनुभयो । उहाँले पर्याप्त समय पाउनु हुन्थ्यो । कसैको स्टुडियोमा गएर सदाशयता देखाउनुपर्ने थिएन । हामी अरू दल जस्तो पार्टी छोडेर कोही जाँदैमा उहाँको खेदो खन्ने, उहाँको मान मर्दन गर्ने, त्यस्तो अभ्यास हामीले सुमनाजीको बेलामा पनि गरेनौँ ।’
उनले केही दिनअघि मात्रै रास्वपाबाट प्रमुख सचेतक समेत भइसकेका परियारले पार्टी त्याग गरेको पत्र बुझाएका थिए ।








