राष्ट्रिय जनमत पार्टीले लियो दल दर्ताको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
सो पार्टीका नेताहरूले मङ्गलवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।
मधेसको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान हमसेखले बताए । उनले आफूहरूले मधेसको समस्या बुझेकाले समाधान गरेर अघि बढ्ने जिकिर समेत गरे ।
नेता हमसेखले भने ‘मधेसको समस्या खत्तम गर्नका लागि पूर्वदेखि पश्चिमसम्म नै हाम्रो सङ्गठन अलरेडी छदैछ । समस्याहरू पहिले देखिनै चिन्हित छन् । त्यही समस्या खतम गर्नका लागि यो पार्टी हामीले गठन गरेका हौ । हामीले ४÷५ वर्षदेखि काम गर्दै आएका छौ । हाम्रो सङ्गठन पुरानै हो, दर्ता मात्रै हामीले अहिले गरेका हौँ ।’
दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको सो पार्टीको चुनाव चिन्ह डोजर रहेको छ । नेता हमसेखले मधेसमा विद्यमान भ्रष्टाचारलाई डोजर लगाएर समाप्त पार्न आफूहरू सफल हुने दाबी समेत गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि विभिन्न दलहरूले निर्वाचन आयोगमा दल दर्ताको कामलाई अघि बढाएका छन् ।








