एमाले निर्वाचनबाट भाग्ने पार्टी होइन तर नहुने निर्वाचनको पैरवी गरेर समय खेर फाल्दैन: महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभए पनि नहुने निर्वाचनको पैरवी गरेर समय खेर नफाल्ने टिप्पणी गरेका छन् ।
सोमवार रुपन्देहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान अन्तरिम सरकार चुनाव गर्नको लागि बन्दै नबनेको जिकिर गरे । उनले सरकारका क्रियाकलापहरू चुनाव केन्द्रित नभएको आरोप समेत लगाए उनले निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारेको भएपनि सरकार निर्वाचन गराउने दिशामा केन्द्रित नभएको उनको आरोप छ ।
उनले भने ‘नेकपा एमाले कहिल्यै पनि चुनावबाट भाग्ने पार्टी होइन । तर नहुने चुनावको पैरवी गरेर समय खेर फाल्दैन । यो सरकार चुनाव गर्नको लागि बनेकै होइन । यो सरकारका क्रियाकलापहरू चुनावतर्फ केन्द्रित नै छैनन् । निर्वाचन आयोगले मात्र चुनावको कुरा गरेर चुनाव हुँदैन । निर्वाचन आयोगले गर्दागर्दै पनि सरकार चुनावको दिशामा छैन भन्ने हाम्रो ठहर हो, निष्कर्ष हो । र यो नै सत्य हो । अरू राजनीतिक दलका नेताहरू जो चुनाव चुनाव भनिरहनुभएको छ । उहाँहरू चुनाव हुने विश्वासमा होइन जेनजी रिसाउलान् भनेर चुनाव भनेका हुन् । नेकपा एमाले कसैसँग पनि डराउँदैन । त्यसकारण हामी जनताका बीचमा छौँ, सडकमा छौँ । स्पष्ट एजेण्डा बोकेर यदि कुनै पार्टी अगाडि बढेको छ भने त्यो नेकपा एमाले मात्रै हो ।’
उनले नेकपा (एमाले) कसैसँग नडराउने जिकिर गर्दै स्पष्ट एजेन्डासहित जनतामाझ गइरहेको दाबी पनि गरे ।








