श्रीनगरमा मध्यरात विस्फोट : इन्स्पेक्टरसहित ९ जनाको मृत्यु

काठमाडौं । शुक्रबार मध्यरातमा श्रीनगरको नौगाम प्रहरी चौकीमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । फरिदाबादबाट बरामद गरिएको अमोनियम नाइट्रेटमा भएको विस्फोटका कारण चौकीको एक भाग पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रहरीका अनुसार यो आतंकवादी आक्रमण नभई एक दुर्घटना थियो । दिल्ली विस्फोटसँग जोडिएका जैश-ए-मोहम्मद र अंसार गजवात-उल-हिन्दसँग सम्बन्धित चिकित्सकहरूको गिरोहबाट फरिदाबादमा बरामद गरिएको अमोनियम नाइट्रेट नै विस्फोटको कारण बनेको हो ।

घटनाको समयमा चौकीमा डीएसपी र्‍याङ्कका एक अधिकारी र तहसीलदारसहित करिब ५० जना उपस्थित थिए । मृतकहरूमा एक प्रहरी इन्स्पेक्टरसहित अन्य ८ जना रहेका छन् । घाइतेमध्ये २४ जना प्रहरी कर्मचारी छन्, जसमध्ये पाँच जनालाई सेनाको बेस अस्पतालमा भर्ना गरिएको छ भने बाँकीलाई श्रीनगरका अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।

विस्फोटको तीव्रता यति धेरै थियो कि चौकीको एकातर्फको पूरै क्षेत्र ध्वस्त भयो र पार्किङमा राखिएका धेरै गाडीहरू पनि जलेर नष्ट भए ।

फरिदाबादमा पक्राउ परेका डा. मुजम्मिलको घरबाट कुल ३६० किलो अमोनियम नाइट्रेट बरामद भएको थियो। त्यसमध्ये केही भाग एफएसएलले परीक्षणका लागि ल्याबमा लगेको थियो र बाँकी नौगाम चौकीको गोदाममा भण्डारण गरिएको थियो । सोही भण्डारण गरिएको अमोनियम नाइट्रेटमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =