अपराधी बाहिर हुँदा डरको वातावरण छ, सरकारले सुरक्षाको प्रत्याभूति देओस्: सांसदहरू

काठमाडौँ । आसन्न प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न उचित वातावरण निर्माण गर्न सांसदहरूले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारसमक्ष रहेका चुनौतीहरूलाई औँल्याउँदै उनीहरूले सरकारले दलहरूसँग समेत छलफल गरी रणनीतिका साथ काम गर्नुपर्ने धारणा राखे ।

बैठकमा बोल्दै नेकपा ९एकीकृत समाजवादी०का सांसद उदयबहादुर बोहराले मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने अन्तरिम सरकारको मुख्य कार्यभार भएपनि सुरक्षा प्रबन्ध मुख्य चुनौती रहेको बताए । उनले मतदान केन्द्रमा शान्ति–सुरक्षा कायम गर्न र राजनीतिक दलहरूबीच समन्वयका विषयमा गृह मन्त्रालय र सरकार दुवै सचेत रहन जरुरी रहेको धारणा राखे ।

उनले जेन–जी आन्दोलनको क्रममा भागेका कैदीबन्दी तथा लुटिएका हतियार फिर्ता ल्याउने सन्दर्भमा सरकारले दत्तचित्त भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गरेर निर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्ने उद्देश्यले यो सरकार बनेको हो । यद्यपि निर्वाचन सम्पन्न गर्न सरकारको अगाडि केही चुनौती समेत छन् । तर सरकारमाथि औँला उठाउने त्यस्तो केही देखिएको छैन । निर्वाचन अपरिहार्य छ, समयमै सम्पन्न हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । तर निर्वाचन गर्नको लागि मतदान केन्द्रमा शान्ति सुरक्षा र राजनीतिक दलहरूको बीचमा समन्वय गरेर कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ ? यो विषयमा गृह मन्त्रालय र सरकार समेत सचेत रहेको अवस्था बुझिएको छ । अहिलेको मुख्य चुनौती भनेको जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरू नै हो । त्यसमध्ये पनि सात सय १८ वटा हतियारहरू प्रहरीले फिर्ता ल्याइसकेको कुरा आएको छ । जलेन—जी आन्दोलनमा घुसपैठ गरेर ठुलो धनजनको क्षति भएको छ । यसमा संलग्न रहेकालाई कारबाही गर्ने र जेनजीका मागहरू पुरा गर्ने जिम्मेवारी पनि यो सरकारसँग छ ।’

उनले जलेन–जी आन्दोलनमा घुसपैठ गरेर सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न समेत गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले शान्तिपूर्ण र निष्पक्ष वातावरण निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउन सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे । उनले प्रहरीको मनोबल बढाउन तथा लुटिएका हातहतियारसँगै भागेका कैदीबन्दी फिर्ता गर्ने कुरामा गृहले विशेष रणनीतिका साथ काम गर्नुपर्ने बताए ।

उनले कारागारबाट भागेका कैदीहरूले समाजमा रहेको शून्यताको फाइदा उठाउने गरेको भन्दै नागरिकको सुरक्षाको लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले भने ‘प्रहरीको मनोबल बढाउन तथा बर्दीको साख जोगाउन गृहमन्त्रीज्यूले खेल्नुभएको भूमिकाको लागि धन्यावाद भन्न चाहन्छु । यो मुलुकमा हतियार बाहिर रहेर चुनाव भएको इतिहास छैन । हतियारसँगै अहिले अपराधी समेत बाहिर रहेको अवस्थामा अहिले समस्या देखिन्छ । प्रत्येक घरबाट वैदेशिक रोजगारीमा गएको अवस्थामा मधेसमा समेत शून्यताको फाइदा उठाएर अपराधीहरूले अपराध गरिरहेका छन् । तपाई दत्तचित्त भएर लाग्नुभयो भने मात्रै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्भव छ । यसमा हाम्रो पनि सहयोग छ ।’

नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले जलेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको गम्भीर अनुसन्धान हुनुपर्ने माग गरे । उनले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी विदेशी वा स्वदेशीको कसको इच्छाअनुसार भएको भनी अनुसन्धान गर्न जरुरी रहेको बताए ।

उनले भने ‘हामीले लामो समयदेखि आन्दोलन भोग्दै आएका हौँ । आजसम्म हामीले जनताले दिएको पानी बाहेक केही खाएनौँ । हामी आन्दोलन गरेरै आएको भएपनि कसैको लुटेर केही पनि खाएनौँ । हामी आन्दोलनबाटै आएको मान्छे पनि राष्ट्रिय सम्पत्तिमा क्षति भएको पनि हामीले जानेका थिएनौँ । हाम्रो जीवनमा पहिलोचोटी यत्रो धेरै राष्ट्रिय सम्पत्तिमा क्षति भयो । यो विदेशीको इच्छाअनुसार भत्केको छ कि नेपालीको इच्छाअनुसार यसको अनुसन्धान हुनुपर्छ ।’

नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले २४ भदौको आन्दोलन नेपाललाई असफल राष्ट्र बनाउनको लागि भएको टिप्पणी गरे । व्यवस्थापिका न्यायपालिका र कार्यपालिका तीनै क्षेत्रमा एकचोटि आक्रमण भएको उल्लेख गर्दै उनले यो राष्ट्रविरुद्धको गम्भीर षड्यन्त्र भएको टिप्पणी गरे ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले एकमत भएर निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकार र गृह मन्त्रालयले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =