जनार्दन, घनश्याम र विप्लवबीच चुनावी गठबन्धनबारे छलफल

काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा, नेता घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
बुधबार राजधानीमा भएको उक्त भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
नेता घनश्याम भुसालका अनुसार आगामी निर्वाचनमा उनीहरू सँगसँगै सहभागी हुने सहमति बनिसकेको छ । भेटवार्तालाई निरन्तरता दिँदै जाने निर्णय पनि भएको उनले जानकारी दिए ।
यसअघि माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सहित १० दलसँग एकता गरेपछि जनार्दन शर्माले ‘प्रगतिशील राष्ट्रिय अभियान’ नामक नयाँ अभियान सुरु गरेका थिए ।
उता, माओवादी–एकीकृत समाजवादी एकताप्रति असन्तुष्टि जनाउँदै भुसाल पक्षीय नेताहरूले नेकपा (बामपन्थी केन्द्र) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।








