सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन आवश्यक वातावरण बनाउनुपर्छ: विज्ञहरू

काठमाडौँ । निर्वाचन आयोगका पूर्वपदाधिकारीहरूले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आयोगलाई सरकारले सबै खालको स्रोत साधनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ड उप्रेती, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङसहितका पूर्वपदाधिकारीहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनीहरूले निर्वाचनको विकल्प नभएकाले सबै दलहरू सो निर्वाचनमा भाग लिने जिकिर समेत गरे । सबै दलहरू लोकतन्त्रवादी भएकाले उनीहरू सबैले निर्वाचनमा भाग लिने पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले दाबी गरे । उनले निर्वाचनमा विदेशमा रहेका मतदाताहरूलाई पनि मत हाल्ने व्यवस्था हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताए ।

पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त गुरुङले भने ‘निर्वाचन आयोगले आफ्नो तर्फबाट राजनीतिक समस्या राजनीतिक वातावरण बनाउने काम सरकारको हो, राजनीतिक दलहरूको हो । दलहरू सबै लोकतन्त्रवादी छन् । उनीहरू निर्वाचनबाट भाग्न सक्दैनन् । जनताले निर्वाचनलाई उत्सवको रूपमा लिन्छन, पर्वको रूपमा लिन्छन । र, विदेशमा रहेका नेपालीहरूलाई पनि मतदान गर्न पाउने गरी तत्काल ऐन कानुनको व्यवस्था गर्नुपयो भनेर सुझाव दिएका छौँ ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले निर्वाचन आयोगलाई आवश्यक सबै खालका स्रोत साधनको तत्काल उपलब्धता गराउनुपर्ने सुझाव आफूले दिएको बताए । उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने धारणा समेत राखे ।

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने ‘तोकिएको मितिमा निर्वाचन हुनुपर्छ । र आन्दोलनबाट आएका समूहले राखेका माग पूरा हुनेगरी निर्वाचनलाई मोडलिङ गर्नु पर्छ । त्यसका लागि इलेक्ट्रिक भोटिङ मेसिन र आई भोटिङ मध्ये के उपयुक्त हुन्छ त्यसमा पनि विचार गर्नुपर्छ । सरकारले निर्वाचन आयोगलाई आवश्यक जनशक्ति, इक्वीपमेन्ट जति चाहिन्छ, ती चीजहरू समयमा उपलब्ध गराउनु पर्छ । निर्वाचन अवश्यमंभावी छ । निर्वाचन नभएसम्म हामी अर्को स्टपमा जान सक्दैनौँ । सबैको माग पूरा हुने गरी निर्वाचनको व्यवस्था हुनु पर्छ भनेर सुझाव दिएका छौँ ।’

परामर्श बैठकमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउनका लागि गरेको तयारीबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =