फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन कटिबद्ध रहेको बताएकी छन् ।

सोमवार भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

मन्त्री गौतमले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै त्यसलाई समयमा सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागि पर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरिन् ।

नेपाल सरकार शान्ति सुरक्षाको प्रबन्ध गरेर निर्वाचन समयमा होस् भन्नेमा कटिबद्ध रहेको मन्त्री गौतमको भनाई थियो । उनले निर्वाचन समयमा नै सम्पन्न हुन्छ भनेर आम मतादातालाई आश्वस्त पार्ने काममा केन्द्रित हुन पनि सबै पक्षलाई अनुरोध गरिन् ।

उनले भनिन् ‘हामी जेन–जी आन्दोलनको क्रममा अव देशमा आमूल परिवर्तन ल्याउनुपर्छ । र, हाम्रो सुशासन र भ्रष्टाचार विरुद्धको एउटा म्यान्डेट लिएर आएको हो । तर हाम्रो मुख्य म्यान्डेट चाहिँ निर्वाचन गर्ने हो । फागुन २१ गते हामीले निर्वाचन गर्नुपर्छ । त्यसका लागि हामीले देशमा सकारात्मक वातावरण बनाउनु पर्छ । नेपाल सरकार शान्ति सुरक्षाको प्रबन्ध गरेर निर्वाचन समयमा होस भन्नेमा कटिबद्ध छ । यहाँ हुनु भएका मन्त्रीज्युहरु र उहाँहरूको दलमार्फत सबै सकारात्मक क्रियाकलापहरुद्धारा जनतालाई आश्वास्त पार्ने काम गरौँ । र हामी सबै जना निर्वाचनको तयारी जुटौँ भन्ने विशेष म्यासेज म यहाँ राख्न चाहन्छु ।’

मन्त्री गौतमले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताइन् ।

उनले आधारभुत अस्पताल, स्वास्थ्य चौकीलगायतका स्वास्थ्य सेवा संस्थाहरूमा निःशुल्क रूपमा उपलब्ध गराइएको औषधिहरूको वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन पनि स्थानीय सरकारलाई सचेत गराइन् । त्यस अवसरमा उनले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्ने आश्वासन समेत दिइन् ।

मन्त्री गौतमले निःशुल्क रूपमा उपलब्ध गराइएको सो औषधि स्थानीय सरकारले उपलब्ध गराउने काममा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारिन् ।

उनले भनिन् ‘म स्थानीय सरकारका प्रतिनिधिहरूलाई पनि भन्न चाहन्छु–नेपाल सरकारले संविधानप्रदत्त जुन निःशुल्क स्वास्थ्यको अधिकार छ । त्यो कानुन बमोजिम पाउनेमा आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर नेपाल सरकार इमप्लिमेन्ट गरेको छ । त्यो सबैले निःशुल्क पाउनुपर्छ । प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभुत अस्पतालको तहसम्म त्यो निःशुल्क छ । त्यो विमा भित्र पनि पर्दैन । त्यो हामीले प्रस्ट बुझौँ । र यो काम हाम्रो स्थानीय सरकारको जिम्मेवारी हो । कुनैपनि बिरामीले औषधि पाएन भनेर भन्नुपर्दैन । किनभने अहिले म मन्त्रालयमा आउँदा पनि मैले सुनिराखेको छु सिटामोल पाइन, ९८ वटा निःशुल्क औषधि पाइएन । स्वास्थ्य चौकीमा त दुई वटा पनि छैन भन्ने आइराखेको छ । स्थानीय सरकारले यो सबै उपलब्ध गराउनु पर्दछ ।’

मन्त्री गौतमले सरकारले स्थानीय सरकारले जनतामा गुनासो नआउने गरी आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि संघीय सरकारले ससर्त अनुदानको व्यवस्था गरेको पनि स्मरण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =