मन्त्रीमण्डल विस्तार, को-को आए नयाँ सरकारमा ?

काठमाडौं । मधेस प्रदेशमा नेकपा (एमाले) नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएसँगै मन्त्रिमण्डलमा सामेल हुने मन्त्रीहरूको नाम पनि सार्वजनिक भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै आफ्नो मन्त्रिमण्डलमा तीनजना मन्त्रीलाई समावेश गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादवले एमालेबाट लखन दासलाई मन्त्री नियुक्त गरेका छन् । दास एमालेका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी, संघीय समाजवादी पार्टीबाट बिमला अन्सारीले मन्त्रीको जिम्मेवारी पाएकी छिन् । मधेस प्रदेश सभामा एक सिट रहेको संघीय समाजवादी पार्टीका तर्फबाट अन्सारी सरकारमा सहभागी भएकी हुन् ।
यसैगरी, अर्को एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कन्चन बिच्छा मन्त्री नियुक्त भएकी छिन् । राप्रपाको पनि प्रदेश सरकारमा यो पहिलो सहभागिता हो ।
यसपटकको मन्त्रिमण्डल सानो आकारको भए पनि यसले एमाले, संघीय समाजवादी र राप्रपाबीचको गठबन्धनलाई प्रतिनिधित्व गरेको छ । मुख्यमन्त्री यादवले प्रदेशको विकास र सुशासनलाई प्राथमिकतामा राख्दै नयाँ मन्त्रीहरूसँग सहकार्य गर्ने बताएका छन् ।








