समाज गालीको दलदलमा फसेकोप्रति चन्द्र भण्डारीको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको गालीगलौजको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भण्डारीले यस्ता गतिविधिले समाजलाई कुन दिशामा धकेलिरहेको छ भन्ने प्रश्नसमेत उठाएका छन् ।
भण्डारीले आफ्नो फेसबुक स्टाटसमा ‘गाली ! गाली ! गाली !!! कति फुर्सद ? के जन्मै गालिका लागि ? कता जाँदैछ हाम्रो समाज ?’ भन्दै आजको समाजको यथार्थ चित्रण गरेका छन् । उनको भनाइअनुसार, तर्कले तर्क खोज्नुपर्ने र विचारले विचारलाई जन्म दिनुपर्नेमा अहिले गाली र आरोप-प्रत्यारोप मात्र मौलाएको छ ।
नेता भण्डारीले गालीलाई मूर्खताको पहिचानका रूपमा परिभाषित गर्दै मानिसहरूसँगको अन्तरक्रिया र अनुभवबाट प्राप्त हुने ज्ञानलाई जीवनको उत्कृष्ट पाठशाला भनेका छन् । उनले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्व एउटै परिवार हो भन्ने मानव सभ्यताको मूल संस्कारलाई हामीले बिर्सँदै गएकोमा दुःख व्यक्त गरेका छन् । ‘मानव सभ्यताको मूल संस्कार ग्रहण गर्न नसक्ने हामी-सभ्य भनिएर पनि असभ्य बन्दैछौ,’ भण्डारीले लेखेका छन् ।








