प्रिमियर शोमा ‘जारी २’लाई मिल्यो उत्कृष्ट प्रतिक्रिया (तस्बिरहरू)

काठमाडौँ । कार्तिक २१ गते आज शुक्रबारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २: सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोज गरिएको थियो ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा हेर्न प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोमा सिनेमा हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाले लिम्बु संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो सिनेमाले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित पाहुनाको थियो ।

यो सिनेमा हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य काकु, अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पुजा चन्द, केकी अधिकारी र ‘जारी २’ टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा बिग मूभिज पुगेका थिए । विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बु संस्कृति झल्किने ड्रेसअपले सवैको ध्यान खिचेको थियो ।

यो सिनेमा हेर्न विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन् । उनले सिनेमा हेरिसकेपछि मिडियासँग प्रतिक्रिया दिँदै भनिन्, ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिए । आज दोस्रो भाग पनि हेर्न पाए । निकै खुशी लाग्यो । यो सिनेमाले राम्रो सन्देश दिएको छ । त्यसमाथी पहिलो भागको तुलनामा फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनु भएको छ । मलाई मन पर्यो । दर्शकलाई पनि मन पर्ने छ । सवैले एक पटक हुर्नु होला ।’

आजबाट विश्वव्यापी प्रदर्शनममा आएको सिनेमाले नेपालमा उच्च शोसहित आक्रामक व्यापार गर्ने देखिएको छ । विशेषगरी पूवी नेपालका हलमा सिनेमाको व्यापार आक्रामक देखिएको छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =