रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् ।

काठमाडौंमा बिहीवार आयोजित जेनजी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताए ।

ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उनको भनाई छ । रामराज्य ल्याईदिउँ भन्ने चाहना भएपनि भन्नेबित्तिकै केही नहुने टिप्पणी गरे ।

उनले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताए । गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उनले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताए ।

उनले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनःसंरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडी बढ्नुपर्ने बताए ।

यता, जेनजी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताए । माक्र्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भएपनि नेपालमा राजनितिक दलहरुको भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताए ।

जेनजी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथी प्रश्न उठाए । प्रहरीले जेनजी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा प्रहरीले गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उनको भनाई छ ।

उनले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताए । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भएपनि हाल मधेसी, मुसहर, दलित, जनजातीका अनुहार मात्रै पक्राउ परेको उल्लेख गरे ।

राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरुसँग अन्तरसंवाद कार्यक्रममा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =