रक्षा बमको आक्रोश- निरंकुश शासकलाई किन हाँसोको पात्र बनाइँदैछ ?

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीहरूमाथि गोली चलाउने आदेश दिने तानाशाहलाई सार्वजनिक रूपमा हाँसोको पात्र बनाइएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । कसैको नाम नलिई उनले सामाजिक सञ्जालमा आक्रोश पोख्दै यस्ता निरंकुश शासकलाई दिइने सार्वजनिक मंच र उनीहरूका ‘चुट्किला’ मा ताली बजाउने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएकी छन् ।
रक्षा बमले आफ्नो पोस्टमा लेखेकी छन्, ‘निहत्था विद्यार्थीहरूमाथि गोली बर्साउने आदेश दिने तानाशाह खुलेआम घुम्दै छ । अन्तर्वार्ता दिँदै छ । अझै पनि चुट्किला सुनाएर दुनियाँ हँसाइरहेको छ । मानिसहरू उसको चुट्किला सुनेर ताली पिटिरहेका छन् ।’ उनले थपेकी छन्, ‘खासमा मानिसहरू चुट्किलामा ताली बजाइरहेका छैनन्, उनीहरू त निरंकुश तानाशाहको हर्षबढाई गरिरहेका छन् ।’
यस्तो प्रवृत्तिको आलोचना गर्दै बमले भनेकी छन्, ‘दिक्क लाग्छ, अचम्म लाग्छ । यो अट्टहासको साक्षी कसरी बस्न सकेका होलान् मानिसहरू ? एउटा दम्भी तानाशाहको भाषणमा ताली बजाएर घर फर्किएकाहरू आफ्नो वरिपरि हुर्किरहेका जेनजीहरूसँग आँखा जुधाएर कुरा गर्न पो कसरी सकिरहेका होलान् ?’
उनले न्यायको माग गर्दै चेतावनीको भाषामा लेखेकी छन्, ‘हाम्रा साथीहरूको रगत सडकमा अझै सुकेको छैन । चिसो रातहरूमा घाइते साथीहरूको शरीर झन् बढी कटकट्याएर दुखिरहेको छ । ती प्रत्येक रगतका थोपाले न्याय पाउनै पर्छ। यी चिसा रातहरूमा ननिदाई निदाउन संघर्षरत आमाहरूका आँखाले न्याय पाउनै पर्छ । दुखिरहेका प्रत्येक घाउहरूले न्याय पाउनै पर्छ ।’








