जलवायु उत्थानशीलतामा सर्वसाधारणको चासो (तस्बिरहरु)

काठमाडौं । जलवायुजन्य विपद्बाट पुग्ने क्षति न्यूनीकरणका लागि किसानले जलवायु उत्थानशील शैली अपनाउन थालेका छन् ।

बेमौसमको वर्षा तथा बाढीका कारण कृषि प्रणाली र सञ्चित अन्नमा नोक्सानी पुग्न थालेपछि किसान जलवायु उत्थानशील कार्यमा जुट्न थालेका हुन् ।

वर्षेनी बाढी तथा डुबानबाट कृषि प्रणाली र सञ्चित अन्नमा क्षति भोग्न बाध्य भएका कर्णाली नदी तटिय क्षेत्रका बासिन्दा अहिले उच्च भकारीमार्फत अन्न जोगाउन लागेका छन् ।

उनीहरु व्यक्तिगत रुपमा उच्च भकारीमा जुट्नुको साथै सामुदायिक अन्न भण्डारण कार्यमा पनि सरिक हुन थालेका छन् ।

उच्च भकारी

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ३९ घरमा उच्च भकारी निर्माण गरिएको छ । त्यसैगरी कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५, ७ र ८ मा पनि उच्च भकारी निर्माण गरिएको छ । स्थानीय सरकार र प्राक्टिकल एक्शनको सहकार्यमा परम्परागत रुपमा अभ्यासमा रहेको उच्च भकारीलाई बाढी सुचित गर्न उचित उचाइबारे अध्ययन गरी जलवायु उत्थानशील कार्यक्रममार्फत उच्च भकारी निर्माण गरिएको हो ।

उच्च भकारी निर्माण भएपछि स्थानीयले वर्ष भरी खानाका लागि राखिएको अन्न, लत्ताकपडा, महत्वपूर्ण कागजात सुरक्षित भएको महशुस गर्न थालेका छन् ।

पहिले अन्नबाली जोगाउन मुस्किल हुन्थ्यो, वडा नम्बर ३ कि सेलिना थारु भन्छिन् ‘अहिले अन्नबाली, कागजात र समान सुरक्षितसँग राख्न सजिलो भएको छ ।’ उच्च भकारीहरू घर भित्रै छानो नजिक पारेर ४ फिट उचाई, ४ फिट लम्बाई र ४ फिट चौडाईमा बनाउने गरिन्छ ।

उच्च नर्सरी

मनसुनी वर्षामा खेतीका लागि राखिएको व्याड डुबान हुँदा तरकारीका बेर्ना नष्ट हुने समस्या समाधानका लागि अहिले उच्च नर्सरीको अभ्यास गरिएको छ ।

भूबनावटअनुसार सामान्यतया जमिनबाट ३ देखि ४ फिट अग्लो बनाएर बाढीले नभेट्ने गरी ब्याड तयार गरी तरकारी र फलफूलका बीउ राख्ने गरिन्छ । राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ वर्षीया दुर्पाती थारुले ५ वर्षदेखि उच्च नर्सरी खेती गर्दै आएकी छन् ।

उच्च नर्सरीमा बेर्ना छर्दा बाढीबाट जोगिनुका साथै किराले काट्ने जोखिम पनि कम हुने गरेको उनको अनुभव छ । उच्च नर्सरीमा कुखुरा लगायत घरपालुवा पशुपंक्षीले बीउ खाइदिने र कुल्चिने जोखिम पनि हुँदैन ।

हिजो आज कर्णाली नदीको तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमै हिउँदे तरकारी लगाउनका लागि उच्च नर्सरी बनाएर बीउ छर्ने गर्छन् । अहिले उच्च नर्सरी किसानको बिचमा लोकप्रिय बनेको छ ।

सामुदायिक उच्च अन्न भण्डारण

अन्न भण्डारका लागि सामुदायिक उच्च अन्न भण्डारणको अभ्यास पनि अत्यन्तै प्रभावकारी देखिएको छ । राजापुर नगरपालिकाको सहयोगमा राजापुर नगरपालिकाको वडा नम्बर १ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च भकारीमा स्थानीयहरूले अन्न लगायत बीउ बिजन तथा सांस्कृति सामग्रीहरू पनि राख्ने गर्दछन् । यसबाट १ सय १५ घरधुरी लाभान्वित भएका छन् ।

३ वर्ष अगाडी निर्माण गरिएको अन्न भण्डारण भवन ६ फिट अग्लो छ । त्यसैले बाढीले क्षति पुर्‍याउँदैन । यो भवन ३५ फिट लामो छ भने चौडाई २० फिट रहेको छ । यो सामुदायिक अन्नभण्डारण भवनमा २ सय ५० क्विन्टल सम्म अन्न भण्डारण गर्न सकिने प्राक्टिकल एक्शनका बरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर बमले जानकारी दिए ।

समुदायमा अन्न भण्डारणमा प्रयोग गरिने डहेरी अर्थात् भकारी ( जुन माटो र गहुँको भुसबाट बनेको हुन्छ ) बाढीले भिज्ने र अन्न बिग्रने हुन्छ । बाँसका भकारीमा पनि पानी छिर्ने भएकाले अन्न बिग्रने जोखिम रहन्छ ।

अहिले सामुदायिक अन्न भण्डारण भवन बनेपछि अन्न भण्डारणमा समुदायलाई सहज भएको छ । बीउ जोगाउन पनि सजिलो भएको छ । बाढीका बेला अन्नबाली, महत्वपूर्ण कागजात तथा सरसमान राख्न स्थानीयहरू उच्च अन्न भण्डार भवन पुग्ने गरेका छन् ।

मुर्गहवा विपद् व्यवस्थापन समितिका अध्यक्ष वन्धुप्रसाद थारुकाअनुसार मोबाइलमा बाढीको पूर्व सूचना आउने बित्तिकै स्थानीयहरू सामान राख्न सामुदायिक उच्च भकारी पुग्ने गर्दछन् ।

यो सामुदायिक भवनमा बाढी आएको बेला जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, गर्भवती, बालबालिकालाई समेत राख्ने गरिएको छ । यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ कर्मि डाडामा पनि सामुदायिक अन्नभण्डारण भवन बनाइएको छ । जसबाट ६५ घरधुरी लाभान्वित भएका छन् ।

तस्बिर १,२ः आफ्नो घरमा बनाएको उच्च भकारीमा सेलिना थारु । बर्दियाको राजापुर नगरपालिका वडा नं.३ स्थित स्थानीयको घरमा बनाइएको उच्च भकारी ।

तस्बिर ३,४ः आफूले बनाएको उच्च नर्सरीमा राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ बर्षिया दुर्पाती थारु

तस्बिर ५,६ः राजापुर नगरपालिका वडा नं.१ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च अन्न भण्डारण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =