नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (फोटो फिचर)

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तीव्र बनाउन बनाएको ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ ।
२०७२ को विनाशकारी भूकम्पले अधिक क्षति पुर्याएको यो सम्पदाको पुनर्स्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ ।
नुवाकोट दरबारलाई साततले दरबार पनि भनिन्छ । काठमाडौँबाट करिब ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो दरबार वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरका कालिगडहरूलाई लगाएर निर्माण गरेका थिए ।
मल्ल शैलीको वास्तुकलामा बनेको यो दरबार नौतले संरचना थियो । जसलाई नब्बे सालको भूकम्पले सात तले बनाइदियो । भूकम्पपछि दरबारको मुख्य भवनका साथै रङ्गमहल, गरढघर, तलेजु भवानी मन्दिर, सेतोपाटी, लाम्पाटी र विष्णु मन्दिर जस्ता संरचनाहरू ध्वस्त भएका थिए ।
पर्यटकहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । स्थानीयहरूले वर्षौँसम्म यसको संरक्षणको माग गर्दै आएका थिए । चीन सरकारको सहयोगमा नुवाकोट दरबार संरक्षण कार्यालयले पहिलो चरणमा दरबारको मुख्य द्वारबाट नै काम सुरु गरेको छ ।
अहिले काम धमाधम भएपनि सम्पन्न भइसकेको छैन । चिनियाँ प्राविधिक टोलीले स्काफोल्डिङ राखेर निर्माण सामग्री भण्डारणका लागि दुईवटा झुपडी बनाएका छन् । दरबारको मौलिकता कायम राख्दै गरढघर र रङ्गमहलको पुनर्निर्माण प्राथमिकतामा छ । यसपछि तलेजु मन्दिर, सेतोपाटी र विष्णु मन्दिरहरूको पालना हुनेछ । पुनर्निर्माण सम्पन्न भएपछि यो क्षेत्रलाई पर्यटकीय हब बनाउन सकिन्छ ।
नुवाकोट दरबार नेपालको एकीकरण इतिहासको जीवन्त साक्षी हो । यसको पुनर्स्थापनाले सांस्कृतिक धरोहर मात्र होइन पर्यटन अर्थतन्त्रलाई पनि बलियो बनाउनेछ । स्थानीय, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा यो कार्य छिट्टै सम्पन्न होस् भन्ने अपेक्षा सबैको छ ।
हेर्नुहोस् तस्बिरहरू:









