छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ । सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा सोताङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ दुर्घटना हुँदा जिपमा सवार महाकुलुङ गाउँपालिका–३ छेस्काम बस्ने १६ वर्षीया हबि राई समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ६ जनालाई उपचारको लागि स्वास्थ्य चौकी वाकुमा पठाइएकोमा ४ जनालाई थप उपचारको
लागि जिल्ला अस्पताल फाप्लुमा पठाइएको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका–१७ सर्दुपुलस्थित सडकमा चतराबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५० प ५२२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ बस्ने ५२ वर्षीय नगेन्द्र प्रसाद राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका–११ स्थित सडकमा को.३७ प ३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय राम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका–१२ संविधान चोकमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२६८ नम्बरको बसले प्र.२–०२–००१ प १६१२ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक इनरूवा नगरपालिका–७ बस्ने ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त बस अनियन्त्रित भई को.२ ह ५६९४ नम्बरको अटो र उक्त मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।

बस र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, विराटनगर महानगरपालिका–११ स्थित सडकमा प्र.१–०२–०४३ प ५६४० नम्बरको मोटरसाइकलले प्र.१–०२–०४५ प २९९० नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार विराटनगर महानगरपालिका–५ बस्ने ६१ वर्षीय दिलिप कुमार दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका–१२ अर्नाहास्थित सडकमा राजबिराजबाट बोदेबरसाईनतर्फ जाँदै गरेको प्र.२ –०१–००२ प ३७९१ नम्बरको मोटरसाइकल
अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका–८ भिमपुर बस्ने २२ वर्षीय प्रशुराम भन्ने सोमदेव मण्डल र मोटरसाइकलमा सवार बोदेबरसाईन नगरपालिका–३ कुशमहार बस्ने २० वर्षीय कैलाश कुमार मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोमदेवको जिवन ज्योती अस्पतालमा र कैलाश कुमारको कोशी अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएको मोटरसाइकलमा सवार १ जनाको जिवन ज्योती अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली, गौरीगंगा नगरपालिका–१० उदासीपुरस्थित सडकमा साइकल दुर्घटना हुँदा साइकलयात्री कैलारी गाउँपालिका– ८ भङ्गाह बस्ने ७१ वर्षीय छोटेलाल चौधरीको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी कैलाली, भजनी नगरपालिका–४ स्थित सडकमा बा.१७ च ५९६ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ खैलाड बस्ने ४५ वर्षीया फुलबसनी चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीलाई घोडाघोडी अस्पताल हुँदै थप उपचारको लागि धनगढीतर्फ रिफर गरिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका–७ निर्मलबस्तीस्थित सडकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख १२५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८४ वर्षीया ईन्द्र कुमारी स्याङतानको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, गोलन्जोर गाउँपालिका–७ तल्लो बाराहास्थित सडकमा सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती एएए २०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक धनुषा, धनुषाधाम नगरपालिका–९ बस्ने ३९ वर्षीय लोबसाङग होइदेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, लमही नगरपालिका–५ लमही बसपार्क नजिकै लु.१ ख ९८७६ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती गाउँपालिका–५ सिङगे बस्ने ६६ वर्षीय राम प्रसाद भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुला, मार्मा गाउँपालिका–३ सारसीस्थित सडकमा लटिनाथबाट सारसीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १६६२ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका–३ बग्देखोला बस्ने ३४ वर्षीय करबिर सिह ठगुन्नाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लटिनाथ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =