सर्वसाधारणले भने- सरकारले निर्वाचनको वातावरण बनाउन ध्यान केन्द्रित गरोस्

काठमाडौँ । सर्वसाधारणले पनि निर्वाचनको लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।
शुक्रवार कुरा गर्दै उनीहरूले राजनीतिक दलहरूसँग परामर्शमा जोड दिएर आगामी फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक वातावरण बनाउनेमा काममा सरकारको जोड हुनुपर्ने उनीहरूले बताएका हुन् ।
काठमाडौँका भृकुटीमण्डपमा भेटिएका राजकुमार कोइरालाले मुलुकमा निर्वाचनको विकल्प नभएको औँल्याउँदै त्यसका लागि आवश्यक वातावरण बनाउन केन्द्रित हुन सरकारलाई आग्रह गरे । उनले निर्वाचनको वातावरण बनाउनका लागि सरकारले जेन—जी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट खोसिएका हतियार, भागेका कैदीबन्दीहरुको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए ।
कोइरालाले भने ‘सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूलाई सहमतिमा ल्याउने काम नगरेको हो कि भन्ने छ । त्यो काम गर्नुपर्छ । सुरक्षाका कुराहरू छन् । कैदीबन्दी भागेका कुराहरू छन् । यिनीहरूलाई खोज्ने काम राज्यको हो । अव त्यो भागेका बन्दीहरूलाई पनि ल्याउनुपर्यो । र, खोसिएका हातहतियार पनि राज्यले खोज्नुपर्छ । अन्य राजनीतिक दलहरूले पनि भएको ठाउँमा सुझाव दिनुपर्छ । तर चुनावको विकल्प देखिँदैन ।’
उनीहरूले राजनीतिक दलहरूलाई सहमतिमा नल्याई सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने निष्कर्ष रामकुमार लामाको छ । उनकाअनुसार सरकारले निर्वाचनको वातावरण बनाउन पुराना भनिएका राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बताए ।
लामाले भने ‘अब निर्वाचन चाहिँ गर्नुपर्छ । निर्वाचन गरिएन भने देश अन्यौलतातिर जान्छ । अनिश्चयतातिर जान्छ । त्यसो हुनाले निर्वाचन गर्नुपर्छ । निर्वाचनका लागि सरकारले वातावरण बनाउनु पर्छ । किनभने अहिले भएका जतिपनि नेपाली जनताले वर्तमानमा अहिले भर्खरै विरोध गरिरहेका दलहरू, उनीहरूको कार्यशैलीका कारण जनताले विरोध गरिरहेका छन् । वास्तवमा अहिले पनि जनाधार तल्लो तहसम्म ती राजनीतिक दलहरूको नै छन् । त्यसकारण एउटा स्टेकहोल्डर उनीहरू पनि हुन् । उनीहरूसँग निर्वाचनको वातावरण नबनाईकन निर्वाचन हुन गाह्रो हुन्छ । तर निर्वाचनको विकल्प छैन ।’
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्ने म्याण्डेट पाएको छ । तर त्यो म्याण्डेटअनुसारको गतिविधि सरकारले गरेकोमा सर्वसाधारण असन्तुष्ट छन् ।








