बालगोपालेश्वरमा यसरी मनाईंदैछ भाईटीका (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउनेको भीड छ । बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी-बहिनी नहुनेहरूलाई भाईटीका लगाउन सुरु गरिएको हो ।

दिदी-बहिनी नहुनेका लागि वर्षमा (आज) एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने चलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् ।

तिहारको पाँचौँ दिन आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिकाअनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा रहेको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीप, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी-बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाई पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ । त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाईटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिएको कथा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =