चितवनमा बस र कार ठोक्किँदा युवतीको मृत्यु, ९ जना घाइते

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-९, टिकौली जंगलमा मंगलबार साँझ भएको बस र कारको भीषण दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट टाँडीतर्फ गइरहेको ना ३ ख ९९८६ नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । प्रहरीका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिएअनुसार दुर्घटनामा बसमा सवार रत्ननगर-१० की ३३ वर्षीया पूजा सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बसका चालकसहित ९ जना घाइते भएका छन्। घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये बस चालक रत्ननगर-२ का ३६ वर्षीय सुरज कँडेलको अवस्था मध्यम रहेको छ ।
अन्य सामान्य घाइते हुनेहरूमा गोरखा गण्डकी गाउँपालिका-५ का ३२ वर्षीय भोजराज काप्री, रत्ननगर–७ का २७ वर्षीय प्रभु नारायण महतो र उनका ८ वर्षीय छोरा रियान्स महतो, नुवाकोट थोप्रे गाउँपालिका-४ की ३५ वर्षीया सीता तामाङ, भरतपुर महानगरपालिका-१२ की ३७ वर्षीया शोभा आचार्य र उनकी ३ वर्षीया छोरी सदिक्षा आचार्य, राप्ती नगरपालिका-३ की २८ वर्षीया सबिता राई र गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ की ५५ वर्षीया माइता गुरुङ रहेका छन् ।
दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका-१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधनलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।








