भ्रष्टाचार आरोपी भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थाले: गृहमन्त्री अर्याल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारी विरुद्ध प्रस्तुत हुन सुझाव दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराएका थिए ।

छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता रहेको थियो ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन् ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढङ्गले कानुनी रूपमा तल नपर्ने गरी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ ।’

प्रधानमन्त्री कार्कीले राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको तथा आ–आफ्नो ठाउँबाट काम भइरहेको उल्लेख गर्दै आन्दोलनकारी घाइतेलाई बोल्न र आफूहरूलाई दबाब दिन नछाड्न आग्रह गरिन् ।

‘अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला, उनले भनिन् ।

घाइतेले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गृहमन्त्री अर्यालले भाग्न खोजेका र , लुकेका पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =