मसँग पनि रोलेक्स घडी छ, लगाएर हिँडेको भए बर्बादै हुने रहेछ : महावीर पुन

काठमाडौं । जब सार्वजनिक जीवनमा पारदर्शिताको अपेक्षा गरिन्छ र मर्यादाको कसीमा हरेक पाइला नापिन्छ, तब सामान्य कुराले पनि ठूलो चर्चा बटुल्छ । यस्तै एक प्रसंग अहिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग जोडिएको छ, जसले आफूलाई उपहारस्वरूप प्राप्त रोलेक्स घडी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर नयाँ बहस छेडिदिएका छन् ।
हालै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले महँगो रोलेक्स घडी लगाएको भन्दै चौतर्फी टीकाटिप्पणी भइरहेका बेला शिक्षामन्त्री पुनको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मन्त्री पुनले आइतबार साँझ आफ्नो फेसबुकमार्फत एक थान रोलेक्स घडीको तस्बिर सार्वजनिक गर्दै त्यसको प्राप्ति र आफूले घडी लगाउन नरुचाउने स्वभावबारे प्रष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘यो रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो । मैले लगाएर हिँडेको भए त बर्बादै हुने रहेछ नि । धन्न झोलामा राखेर बचिएछ ।’
समाजसेवा र नवप्रवर्तनका क्षेत्रमा विगतदेखि नै सक्रिय रहेका पुन ‘भट्भटे मन्त्री’ उपनामले समेत चिनिन्छन् । उनको यसअघिको अनुभव पनि घडीसँग जोडिएको छ । उनले तीन वर्षअघि बेलायतमा बस्ने एक साथीले दिएको रोलेक्स घडी पनि फेसबुकमार्फत नै बेचेको स्मरण गरेका छन् । तर, यसपटकको घडी तत्काल बेच्ने मनसाय नरहेको उनले उल्लेख गरेका छन्, ‘तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ । गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई ।’








