सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।
सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँट्ने काम गरिरहेको उनको जिकिर थियो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे ।
जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिरहेको ओलीको भनाई थियो ।
उनले भने ‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरूले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना जनतालाई झोक्याउने, जनता ठग्ने मेलो मात्रै हो । वर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो रु जेनजीको नाममा आन्दोलन गर्ने, जेनजीले नेपालमा के गर्याे ? जेनजी आमैलाई प्रधानमन्त्री बनायो । बङ्गलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भइन भनेर बेस्सरी नारा लगायो । बुढी भइन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्–मैले अस्ति नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौँ ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि । जसरी होस् देश भित्रै बसेर सङ्घर्ष गरेर आएका शक्ति हो । त्यसकारण हामी त्यस्तो कमजोर खालका हुत्तिहारा होइनौँ । अनि चुनाव गराउने रे । झापामा मेरो घर जलाइयो । अनि हेर्न जान परेन । त्यहाँ जान पनि नपाउने ? काठमाडौँ उपत्यका बाहिर जान नपाउने ? क्या गज्जबको सरकार छ । मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कटने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु । के कानुनले समाउँछ, के कानुनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । जथाभाबी गर्ने, मनपरी गर्ने । कहाँबाट ल्याएको यो देश । हाम्रो होइन । मौखिक आदेशमा जे पनि गर्न पाइन्छ ? हदबन्दी गर्ने चुनावमा जान नदिने, दलहरूलाई चुनावमा भाग लिन नदिने । अनि फागुन २१ मा चुनाव गर्ने ? पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, निषेध गर्ने । दमन गर्ने । अनि फागुन २१ मा चुनाव हुन्छ भन्छ । यसरी सरकारले दिन दुनियाँलाई ढाँटेको हो । सोच नै यस्तै हो भने छोडिदिनुस् यो काम लाग्दैन । ढाँटेको हो भने जनता सचेत छन् काम लाग्दैन । यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले विघटित प्रतिनिधि सभा पुनर्स्थापन भनेको हो ।’
अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौँ उपत्यका बाहिर नजान प्रतिबन्ध लगाए पनि आवश्यक परेका बेला देशको कुनैपनि सहरमा घुम्न जानसक्ने बताए ।








