नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई अझ बढी प्रभावकारी बनाउन यसको क्षेत्राधिकार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिफलमुखी क्षेत्रमा लगानी विस्तार गरी कोषलाई सशक्त रूपमा अगाडि बढाउन आवश्यक रहेको उनले बताए।
मन्त्री घिसिङले विद्युतीय सवारीसाधन र चार्जिङ स्टेसनजस्ता ‘इ-मोबिलिटी’ का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए। उनले भने, “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादनजस्ता परियोजनामा लगानी गर्न सकिन्छ। त्यसको सम्भाव्यता अध्ययन गरौँ। अब लगानी गर्नुपर्ने तथा लगानी गर्ने क्षेत्राधिकारलाई अझ विस्तार गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्न सरकार तयार छ।”
उनको विश्वास छ कि हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुनेछ।
कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषको वित्तीय स्रोतबारे जानकारी दिए। उनका अनुसार कोषमा सात अर्ब रुपैयाँ स्वःपुँजी (इक्विटी) छ भने एसियाली विकास बैंकमार्फत पाँच अर्ब १९ करोड, विश्व बैंकबाट १२ करोड र नेपाल सरकारबाट दुई अर्ब रुपैयाँ ऋणका रूपमा प्राप्त भएको छ। कोषले हालसम्म १६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको उनले बताए।
नगर विकास कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण/अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ। हालैको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिनेबारे पनि त्यसअवसरमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएकाे छ ।








