कांग्रेसले अब नियमित महाधिवेशनमार्फत नयाँ दिशा दिनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई नयाँ ऊर्जा र एकताको पार्टी बनाउन १५ औं महाधिवेशन मंसिर महिनामै गर्नुपर्ने बताएका छन् ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै कोइरालाले पार्टीभित्रको एकता, अनुशासन र जनविश्वास पुनःस्थापना नै अहिलेको मुख्य कार्यसूची हुनुपर्ने बताए ।
कोइरालाले भाद्र २३ गतेको जेनजी आन्दोलनका क्रममा मारिएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले आन्दोलनका क्रममा राज्यद्वारा अत्यधिक बल प्रयोग भएको भन्दै त्यसको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरे ।
उनका अनुसार हालको राजनीतिक र सामाजिक अस्थिरतामाथि कांग्रेसले नै जिम्मेवारीपूर्वक नेतृत्व लिनुपर्ने अवस्था आएको छ । ‘हाम्रो देशको राजनीति र सामाजिक नैतिकता अबको मुख्य परीक्षा हो, कांग्रेसले यो चुनौतीको नेतृत्व लिनुपर्छ,’ उनले भने ।
कोइरालाले सात दशकको संघर्षपछि बनेको वर्तमान संविधान अहिले अर्धमूर्छित अवस्थामा पुगेको टिप्पणी गरे । ‘संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौं, त्यसैले देशको राजनीतिक भविष्य तय गर्नेछ,’ उनले भने, ‘निर्वाचनको विकल्प सोच्दा कांग्रेस देशकै राजनीति र युवा पुस्ताबाट पनि असान्दर्भिक हुन सक्छ ।’
उनले घोषित आमनिर्वाचनमा सबै नेपालीको सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण नै अहिलेको साझा लक्ष्य हुनुपर्ने बताए ।
सरकारप्रति आलोचना
कोइरालाले निर्वाचनको तयारीमा सरकार ढिलो भइरहेको आरोप समेत लगाए । ‘त्रासमा बसेको समाजले निर्वाध निर्वाचनमा भाग लिन सक्दैन, यो जिम्मेवारी सरकारको हो तर सरकारको सक्रियता अपुग देखिएको छ,’ उनले भने ।
उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कानुनअनुसार दण्ड दिन आग्रह गरे । ‘त्यस्ता अपराधीलाई उन्मुक्ति दिनु कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य हुन्छ,’ कोइरालाले भने ।
कोइरालाले पार्टीभित्रको आन्तरिक अविश्वास, सन्देह र अनुशासनहीनतालाई अन्त्य गर्दै पारदर्शी निर्णय प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए । ‘निर्णय प्रक्रियामा न्याय र पारदर्शिता बिना एकता सम्भव छैन,’ उनले भने, ‘एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तनशील कांग्रेस आजको आवश्यकता हो ।’
कारबाही फिर्ताको प्रस्ताव
अनुशासन समितिबाट कारबाही सिफारिस भएका नेताकर्मचारीको निलम्बन फिर्ता गर्नुपर्ने कोइरालाको प्रस्ताव थियो । ‘हालको राजनीतिक परिस्थितिमा सबै कारबाही फिर्ता गरी एकताको साथ संगठन निर्माणमा लाग्नुपर्छ,’ उनले भने ।
कोइरालाले मंसिर महिनामै १५औं महाधिवेशन गरेर पार्टीलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए । उनले भने, ‘कांग्रेसलाई नयाँ सम्भावनाको पार्टी बनाउन महाधिवेशन अत्यावश्यक छ । यही बाटोबाट कांग्रेस फागुन २१ गते हुने राष्ट्रिय निर्वाचनमा जनताको मन जित्न सक्षम हुनेछ ।’
कोइरालाले थपे ‘कांग्रेस कुनै शब्द होइन, यो नेपाली समाजको सभ्यता हो, नेपालको इतिहास हो, लोकतन्त्रको पर्याय हो । एकताको बल र जनताको विश्वास नै हाम्रो वास्तविक पूँजी हो ।’








