बालेन र सुदन गुरुङविरुद्ध अनेरास्ववियुले दियो जाहेरी, प्रहरीले माग्यो २४ घण्टाको समय

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएको छ । यद्यपि, प्रहरीले उक्त उजुरी दर्ता गर्न अस्वीकार गर्दै २४ घण्टाको समय थप समय मागेको छ ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालका अनुसार, प्रहरीले उजुरी दर्ताको विषयमा सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टाभित्र जवाफ दिने बताएका छन् । ‘हामीलाई भन्नुभएको छ कि उजुरी दर्ता नगरेको खण्डमा हामी अदालतलगायत अन्य स्थानमा जानेछौं,’ बडालले भने ।
उजुरीमा सिंहदरबार, सर्वोच्च अदालत र अन्य प्रमुख सरकारी संरचनामा भएको आगजनीमा संलग्न रहेको भन्दै भिडिओ र फोटो प्रमाण समेत प्रहरीलाई बुझाइएको छ ।
अनेरास्ववियुका नेता बडालले प्रमाणहरूमा आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान र उनीहरूको गतिविधि स्पष्ट देखिने बताए ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र आगजनीको घटनामा सम्बन्धित व्यक्तिहरूका विरुद्ध कारबाहीको माग गर्दै अनेरास्ववियुले प्रहरीलाई औपचारिक उजुरी दिएको हो ।
उक्त घटनामा संलग्न केही व्यक्तिहरूको पहिचान गरिएको र तिनीहरूको सुरक्षा संयन्त्रको हातमा नपर्नुमा मुख्य रूपमा प्रहरीको लापरवाहीको आरोप लगाइएको छ ।








