कार्यवाहक वडाध्यक्षले किन गरे पालिका अध्यक्षको खुट्टा मालिस ?

काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले एक व्यक्तिलाई आफ्नो खुट्टामा मालिस गराएको भिडिओ यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओमा कार्यवाहक वडाध्यक्ष हरि खंग अध्यक्ष चौधरीको खुट्टा दबाउँदै मालिस गर्दै गरेको देखिन्छन् ।
उक्त भिडिओ सार्वजनिक भएपछि अध्यक्ष चौधरीको अहिले आलोचना भइरहेको छ । उनले तानाशाही र हुकुमी शासन गरिरहेको भन्दै उनको विरोध भइरहेको हो ।
यो घटना असोज ५ गतेको हो । १० असारसम्म हुनुपर्ने गाउँ सभा ५ असोजमा मात्र बोलाइएको थियो । तर, उक्त दिन बैठक बस्ने सकेन ।
गाउँ सभा र पालिका अध्यक्ष चौधरीसँगको विवादका कारण सो सभा असफल भएको थियो । यसै क्रममा कार्यवाहक वडाध्यक्ष खंगलाई अध्यक्षलाई मनाउन दबाब दिइएको थियो ।
अध्यक्ष चौधरीले गाउँ सभा नहुने अडान लिएपछि, वडाध्यक्षहरूको जोडबलले खंगलाई मालिस गर्न प्रोत्साहित गरेका थिए । खंगले भने, ‘मैले अध्यक्षलाई मनाउन खुट्टा हल्का मालिस गरेको हुँ, यो कुनै गल्ती होइन ।’
भिडिओ सार्वजनिक भएपछि, अध्यक्ष चौधरी र कार्यवाहक वडाध्यक्ष खंगको कार्यलाई आलोचना गरिएको छ । आलोचकहरूले यसलाई तानाशाही शासनको एउटा उदाहरणको रूपमा हेरिरहेका छन्, भने अन्य व्यक्तिहरू यसलाई एक साधारण अनौपचारिक क्रियाकलाप मानेका छन् ।
अध्यक्ष चौधरीका सहयोगी वडाध्यक्षहरूले यो प्रक्रिया पारदर्शी नभएको र व्यक्तिगत स्वार्थका कारण भएको आरोप लगाएका छन् ।








