मौसम अपडेट : यी २० जिल्ला बाढीको अति उच्च जोखिममा, विभागले गर्‍यो विशेष आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका २० भन्दा बढी जिल्लाहरूलाई बाढीको उच्च जोखिममा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । विशेष गरी मधेस प्रदेशमा मुसलधारे वर्षाले जनजीवन प्रभावित बनेको छ ।

बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिम रहेको छ । यी क्षेत्रमा रहेका नदी तथा खोलाहरूमा जलस्तर उल्लेख्य वृद्धि भई आकस्मिक बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैगरी, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरूमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा समेत बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम को सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

विभागले सबै सर्वसाधारणलाई नदी किनार, खोला तथा पानीको उच्च बहाव हुने क्षेत्रहरूबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र आवश्यक तयारी अपनाउन आग्रह गरेको छ । विपद् व्यवस्थापन निकायहरूलाई समेत उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =