सबै गाडी कटेपछि बिपी राजमार्गमा आवागमन बन्द गरिने

काठमाडौं । विगत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरूमा पहिरो खस्दा जनजीवन प्रभावित भएको छ। सडक विभागले बीपी राजमार्गमा आज बिहान १० बजेदेखि आवागमन पूर्ण रूपमा बन्द गरेको छ भने पृथ्वी राजमार्गका विभिन्न खण्डमा पनि पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ।

अविरल झरीका कारण ठाउँठाउँमा पहिरो खस्ने जोखिम बढेपछि बीपी राजमार्गमा बिहान १० बजेदेखि कुनै पनि सवारी साधनलाई प्रवेश दिइएको छैन। बिहानैदेखि राजमार्गमा प्रवेश गरिसकेका गाडीहरूलाई भने पास गराएर गन्तव्यतर्फ पठाइएको सडक विभागले जनाएको छ। यो कदम यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी चालिएको हो।

पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनहरू पनि ठूलो समस्यामा परेका छन्। काठमाडौं आउने गाडीलाई कुरिनटार र काठमाडौंबाट बाहिर जाने गाडीलाई नागढुंगामा रोकिएको छ। पृथ्वी राजमार्गको जवाङ खोलासहित केही स्थानमा ठूलो पहिरो खसेका कारण यातायात अवरुद्ध भएको छ।

नागढुंगा चेकपोस्टमा ट्राफिक प्रहरीले माइकिङ गर्दै काठमाडौंबाट बाहिरिन लागेका सवारी साधनलाई फिर्ता पठाएको छ। “धादिङका विभिन्न स्थानमा पहिरो आएको र तत्काल खुलाउने सम्भावना नरहेकाले, सम्पूर्ण चालक, सहचालक महानुभावहरू, पहिरो आएर फर्कन नसक्ने स्थिति हुनसक्छ, तपार्ईहरूलाई तत्काल यहाँबाट पठाउन स्थिति छैन। सुरक्षित तवरबाट काठमाडौं फिर्ता भई सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौं,” ट्राफिक प्रहरीले माइकिङमार्फत् जानकारी गराइरहेको छ। यसले गर्दा सयौं यात्रुहरू नागढुंगामा अलपत्र परेका छन्।

चितवन प्रहरीले मुग्लिन–नारायणगढतर्फको आवातजावत पनि बन्द गराएको छ। नागढुंगा–मुग्लिन सडक खण्डका ठाउँठाउँमा पहिरो खसेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। निरन्तरको वर्षाले पहिरोको जोखिम बढाएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरिएको छ।

देशभरि नै अविरल वर्षा जारी रहेकाले सडक विभाग र ट्राफिक प्रहरीले यात्रुहरूलाई विशेष सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छन्। मौसममा सुधार नआएसम्म यातायात सेवा सामान्य हुन अझै केही समय लाग्ने देखिएको छ।

मौसम विज्ञान विभागले आगामी २४ घण्टासम्म पनि देशभरि भारी वर्षा जारी रहने सम्भावना रहेकोले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन र पहाडी क्षेत्रमा भूस्खलनको जोखिम बढेकोले सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =