भद्रकालीमा लस्करै सवारीसाधनको पूजा (तस्बिरहरु)

काठमाडौं । बडादसैँको महानवमीका दिन आज काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको घुइँचो लागेको छ । बिहानैदेखि भक्तजनहरूले आफ्ना सवारीसाधनको पूजाअर्चना गर्न भद्रकाली मन्दिरमा लाइन लागेका हुन् ।
दसैँको महानवमीका दिन सवारीसाधन तथा कलकारखानाका औजारहरूको पूजा गर्ने परम्परा रहीआएको छ । आफ्नो सवारीसाधनले सधैँ साथ दिने र लामो समयसम्म नबिग्रने धार्मिक विश्वासका साथ सवारीसाधन धनीहरूले पूजा गर्ने गर्दछन् ।
विशेषगरी, नवरात्रको अन्तिम दिन अर्थात् महानवमीमा सवारीसाधन र औजारहरूको पूजा गर्दा ती साधन तथा औजारहरू धेरै समय टिक्ने जनविश्वास छ । यसै विश्वासका साथ आज हजारौँको संख्यामा भक्तजनहरूले भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनको पूजा गरेका छन् ।
महानवमीको दिन देवी दुर्गाका विभिन्न स्वरूपहरूको पूजाआराधना गरिनुका साथै विभिन्न पेसा र व्यवसायसँग सम्बन्धित औजारहरूको पनि पूजा गर्ने प्रचलन छ ।









