चाडपर्वमा यात्रु ठग्ने यातायात व्यवसायीलाई कारबाही हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । चाडपर्वको मौका छोपी यात्रुबाट बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले चेतावनी दिएका छन्।

यात्रुबाट निरन्तर गुनासो आएको भन्दै मन्त्री घिसिङले बुधबार एक विज्ञप्ति जारी गर्दै कानुनविपरीतका यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे। उनले भने, “हालको विषम परिस्थितिमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्छ। यात्रुलाई अनावश्यक दुःख दिएर चाडपर्वलाई कमाउने मौकाका रूपमा प्रयोग नगरियोस्। स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न म हार्दिक आग्रह गर्दछु।”

मन्त्री घिसिङले यातायात व्यवसायीबाट यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न यात्रुहरूलाई अनुरोध गरेका छन्। उनले सरकार यात्रुको हितका लागि प्रतिबद्ध रहेको र कानुनको पालना नगर्ने कसैलाई पनि छुट नदिइने स्पष्ट पारे।

यसअघि पनि चाडपर्वका बेला यातायात व्यवसायीले बढी भाडा लिने गरेको गुनासो आउने गरेको थियो। सरकारले पटकपटक अनुगमन गरेर कारबाही गर्ने बताए पनि यस्ता समस्या दोहोरिने गरेका छन्। यसपटक मन्त्री घिसिङले स्वयं चासो देखाएर कारबाहीको चेतावनी दिएपछि यात्रुहरूले केही राहतको महसुस गरेका छन्।

मन्त्री घिसिङले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई चाडपर्वका बेला गरिने अनुगमनलाई अझ कडाइका साथ लागू गर्न निर्देशन दिएका छन्। उनले यात्रुको गुनासोलाई तत्काल सम्बोधन गर्न र दोषीमाथि कारबाही गर्न कुनै कसर बाँकी नराख्न पनि आग्रह गरेका छन्।

यात्रुहरूले पनि आफू ठगिएको पाइएमा तत्काल नजिकको प्रहरी कार्यालय वा यातायात व्यवस्था विभागमा उजुरी गर्न सक्नेछन्। सरकारले चाडपर्वलाई सुरक्षित र सहज बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =