शीर्ष नेताहरूले राजनीतिबाट मार्ग प्रशस्त गर्नुपर्छ : विन्दा पाण्डे

काठमाडौँ । नेकपा (एमाले) की पोलिटब्युरो सदस्य विन्दा पाण्डेले प्रमुख तीन दलका शीर्ष नेताहरूले राजनीतिबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय देखिएको जेनजी आन्दोलनको आक्रोश मुख्यतः ठूला दलका नेताहरूको प्रतिको भएको उल्लेख गर्दै उनले नेतृत्व तहले गम्भीर समीक्षा गर्नुपर्ने बताएकी हुन् ।

उनले नेतृत्वको पुस्ता परिवर्तन अपरिहार्य भएको औँल्याउँदै भनिन्, ‘जेन–जी आन्दोलनले उठाएका सवाल र उनीहरूको भावना बुझ्नका लागि आफ्नै परिवार, आफन्त र छिमेकका युवाहरूको कुरा धैर्यपूर्वक सुन्ने हो भने पनि धेरै कुरा प्रस्टिन्छ ।’

पाण्डेले अबको राजनीतिक संक्रमणको समाधानको थालनी पहिलो पुस्ताका नेताहरूको बिदाइबाट सुरु हुनुपर्ने धारणा राखेकी छन् । त्यसपछि, जेन–वाई र जेन–जेड पुस्तालाई अग्रस्थानमा राख्दै, जेन–एक्स पुस्ताले उनीहरूको मार्गदर्शन र मेन्टरिङ गर्ने भूमिका निर्वाह गर्नुपर्ने उनले तर्क राखिन् ।

‘ठूला दलका शीर्ष नेताप्रति देखिएको असन्तोषको समीक्षा गर्दै राजनीतिक नेतृत्वले बाटो खोल्नु पहिलो महत्वपूर्ण कदम हो,’ उनले भनिन्, ‘अन्य नेताहरूले पनि आफू आवद्ध संस्था र पदको गहन आत्ममूल्याङ्कन गर्दै नीतिगत, संरचनागत र नेतृत्वगत रूपान्तरणमा ढिलाइ गर्नु हुँदैन ।’

उनले सुशासनका बाधकहरूको पहिचान गरी तीव्र कारवाहीको निरन्तरता जनताको अपेक्षा भएको उल्लेख गर्दै, सुधारको कार्यदिशा नेतृत्व परिवर्तनसँगै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘अबको कार्यदिशा नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरण हुनुपर्छ,’ उनले भनिन्, ‘जिम्मेवारीमा जेन–वाई र जेन–जेडलाई अगाडि ल्याउँदै जेन–एक्सले सक्षम र कुशल बनाउने भूमिकामा उभिनु समयको माग हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =