जेनजी आन्दोलन लोकतान्त्रिक मूल्यमाथिको आक्रमण, छानबिन र कारबाही हुनुपर्छ : डा प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हालैको जेन-जी आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमाथि भएको आक्रमणलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको प्रहार बताएका छन् । आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा पत्रकारहरूसँगको भेटघाटमा उनले यस्तो धारणा राखेका हुन् ।

महतले अधिकारका लागि लड्दा ज्यान गुमाउनु दुःखद् भएको बताए । उनले नवयुवा पुस्ताले उठाएका सुशासन र अभिव्यक्तिको स्वतन्त्रताको विषय सकारात्मक रहेको स्वीकार गर्दै, आन्दोलनमा देशका सम्पत्ति नष्ट गर्ने कार्यमा लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी र देश तथा जनताको प्रगतिमा ईर्ष्या गर्ने प्रवृत्तिहरू सामेल भएको दाबी गरे ।

शासन सञ्चालनका क्रममा राजनीतिक दलहरूबाट कमजोरी भएको स्वीकार गर्दै महतले नेतृत्व तहबाट भएका कमजोरीलाई कानुनसम्मत ढंगबाट हटाउन सकिने बताए । उनले जनप्रतिनिधिहरूको संस्था संसद विघटन हुनु नराम्रो भएको भन्दै, लोकतान्त्रिक र संवैधानिक व्यवस्थामा उभिएर नै कमीकमजोरी हटाउन सकिनेमा जोड दिए ।

‘यो आक्रमण भनेको लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण हो,’ महतले भने, ‘जो अधिकारका लागि लडे, त्यसका खिलाफ पनि जुन किसिमको अभिव्यक्ति आयो, घटना भयो, त्यो दुःखद् छ । नवयुवा पुस्ताले जुन सुशासन र अभिव्यक्तिको स्वतन्त्रताको विषय उठाएका थिए, यो उनीहरूले चाहेको कुरा थिएन। यो लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी, देश र जनताको प्रगतिमा पनि ईर्ष्या गर्ने प्रवृत्ति यसमा सामेल छन् ।’

उनले थप भने, ‘लोकतान्त्रिक व्यवस्थालाई हामीले जुन संस्थागत गर्ने कोशिस गरिरहेका छौँ, त्यसमाथि नै आक्रमण भएको छ । यो शासन क्रममा पार्टीहरूबाट कमी, कमजोरी भएका छन् । त्यसलाई नेतृत्व तहबाट कमजोरीलाई कानुनसम्मत ढंगबाट राज्य पार्टीको विधानमार्फत नै हल खोज्ने व्यवस्था नै लोकतान्त्रिक व्यवस्था हो । त्योभन्दा अर्को माध्यमबाट न्याय हुन सक्दैन । जनप्रतिनिधिहरूको संस्था संसद विघटन भयो, त्यसको हामीले विरोध गरेका हौँ। लोकतान्त्रिक, संवैधानिक व्यवस्थामा उभिएर नै हामीले भएका कमी कमजोरी हटाउन सक्छौँ । देशमा सुशासन सुनिश्चित गर्न सक्छौँ । त्योभन्दा अर्को बाटो छैन ।’

प्रवक्ता महतले दुवै दिनको घटनाको गम्भीर छानबिन गरी दोषीउपर कारबाही हुनुपर्ने माग गरेका छन् । अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिने भए पनि त्यो हुन नसकेको उनले बताए । अब आउने दिनलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण गर्ने प्रवृत्तिबाट जोगाउनु नै अबको जिम्मेवारी हुने उनको भनाइ थियो ।

देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न जरुरी रहेको बताउँदै, उनले पार्टीमा रहेका सबै नेताहरू भ्रष्ट र गलत हुन् भन्ने भाष्य स्थापित गर्न खोजिएको कुरा सरासर गलत भएको दाबी गरे । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने नेताहरू पनि धेरै रहेको भन्दै यसलाई बिर्सन नहुने उनले जिकिर गरे । जनताभन्दा दोस्रो निर्णायक हुन नसक्ने बताउँदै उनले सबै मिलेर देशलाई मजबुत गर्नुपर्ने र लोकतान्त्रिक संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रवक्ता महतले सहज हुँदा प्रशंसा र अप्ठ्यारोमा गालीगलौजको वर्षा गर्ने कुरा उपयुक्त नहुने भन्दै सन्तुलित र संयम हुन आग्रह गरे । देश अहिले अप्ठ्यारो परिवेशमा रहेको भन्दै सहज परिस्थितिमा लैजान जरुरी रहेको उनले बताए ।

जेन-जी पुस्ताको आन्दोलनका क्रममा प्रवक्ता महतको घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन् । उक्त घर आफूले अध्ययन गरेर कमाएको पैसाबाट बनाएको उनले जिकिर गरे । आफू पदमा पुगेको बेलामा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =