कांग्रेसका इमान्दार नेताहरु बस्ने घर जलाइयो : प्रकाशमान (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । चाक्सीबारीस्थित आफ्नो निजी निवासमा भएको क्षति अनुगमन र निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरूले ‘राजनीतिक मन्दिर’ को रूपमा लिने गरेको स्मरण गर्दै अहिले आगजनी र तोडफोड गरी नष्ट पारिएकोप्रति चिन्ता व्यक्त गरे । सिंहले जेन जीले इतिहास मेटाउन आन्दोलन नगरेको, बरु जेन जीको आवरणमा आपराधिक मनसाय बोकेका व्यक्तिहरूले यस्तो क्रियाकलाप गरेको आरोप लगाए ।
२०४६ सालको परिवर्तन ल्याउन चाक्सीबारीले खेलेको भूमिकालाई अहिलेको आन्दोलनका क्रममा जलाइएकोप्रति उनले दुःख व्यक्त गरे । किसुनजीको आश्रम, विराटनगरस्थित कोइराला निवास लगायत काँग्रेसका पुराना इमान्दार नेताहरू बस्ने घरहरूमा समेत आगजनी गरिएको भन्दै यसलाई नियोजित घटनाको रूपमा उनले अर्थ्याए ।
सिंहले आफूहरू विधिको शासनका लागि लडेको र विधिको शासन स्थापित गर्न विधिअनुसार नै आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्नेमा जोड दिए । आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवारजनमा समवेदना प्रकट गरे ।
नेता सिंहले दलहरूलाई कमजोर बनाउने दुष्प्रयास भइरहेको बताए । ‘यो डेमोक्रेसीमा दलहरूको भूमिका महत्वपूर्ण हुन्छ । समयको माग बमोजिम दलहरू संस्थागत गरेर अघि बढ्नुपर्छ । मिलेरै देश बनाउने हो,’ उनले भने, ‘राज्यविरुद्ध दुष्प्रयास गरिएको छ । जलाएर केही हुने होइन । शून्यतामा कसैले केही गर्न सक्दैन ।’
उनले गणेशमान सिंहको घरलाई धेरैले राजनीतिक मन्दिरको रूपमा लिने गरेको बताउँदै भने, ‘कतैबाट काम नभएपछि बुबाआमाको जस्तो गरी आउने ठाउँ यही हो । अहिले पनि अरू ठाउँमा जान्छ, जान्छ, अन्तिममा केही नभएपछि आउने ठाउँ यही हो ।’
उनले जेन जीको आन्दोलनमा ‘घुसपैठ’ भएको दाबी गर्दै स्वच्छ मान्छेहरूलाई हतोत्साही गर्न हातपात गर्ने र घर जलाउने काम गरिएको बताए । नेता सिंहले आगजनी र तोडफोड गर्नेमाथि प्रमाणसहित छानबिन गरी कारबाहीको दायरामा ल्याउन पुनः माग गरे ।








