सम्पत्ति रक्षाका लागि दमकल पठाउँदा ढुंगा हानिएपछि पछि हट्यौँ : राजुनाथ पाण्डे (भिडिओ)

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन् । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएपछि महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताएका हुन् ।

बिहीबार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन, आगजनी र तोडफोडका कारण दमकल सडकमा निस्कन नसकेको र २४ गते साँझ बौद्धबाट निस्कन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाडीमा पनि ढुंगामुढा भएको बताए । उनले राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पारे । नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उनको भनाइ छ ।

भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत र सिंहदरबारमा पनि दमकल परिचालन गरेको उनले बताए । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको उनको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभूतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको पनि उनले बताए । 

पाण्डेले भने, ‘हामीलाई दमकल किन निस्किएन भनेर प्रश्न आइरहेको थियो। तर आन्दोलन, आगजनी र तोडफोडका कारण दमकल सडकमा निस्कन सकेन । साँझ बौद्धबाट निस्कन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भयो र नेपाली सेनाको गाडीमा पनि ढुंगामुढा भएको छ । अगाडि बढ्न नसकेको अवस्थामा हामी कुरिरहेका थियौँ । सवा ८ बजेदेखि पौने १० सम्म हामीले सिंहदरबारमा दुई वटा दमकल लगेर निभाएका थियौँ । सुरक्षाका लागि नेपाली सेना खटिएपछि समन्वय गरेर आवश्यक ठाउँमा खटिएका थियौँ । रातभर खटियौँ । पटकपटक आगो निभाएपछि पनि आगो ननिभेर पुनः लागेकाले दशौँ पटक हामी गएका छौँ । भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेका थियौँ । हामी कुनै हालतमा पनि दमकल जानसक्ने अवस्थामा ढिलाइ गरेका छैनौँ । महानगरले दमकल पठाएन भन्ने कुरा गलत हो । हामीले सुरक्षाको प्रत्याभूतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरेका हौँ ।’

महानगर प्रहरीले घाइतेको उपचार र खानपानको व्यवस्थामा समेत खटिएको दाबी गर्यो । महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =