हितेन्द्रदेव शाक्यको राजीनामा चाहन्छन् कुलमान

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विवेक प्रयोग गरेर मार्ग प्रशस्त गर्न सन्देश पठाएका छन् ।
जेनजी आन्दोलनपछिको जनभावना र समयको माग बुझ्दै शाक्यले मार्ग प्रशस्त गर्नुपर्ने उनले बताएका छन् । संस्थागत सुधार र जनअपेक्षा सम्बोधन गर्नु आजको आवश्यकता रहेको भन्दै उनले शाक्यले पद छाड्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
‘सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नु पर्छ, त्यसपछि मात्र विकल्पको सोच आउँछ’ मन्त्री घिसिङले भने ।
निवर्तमान ओली सरकारले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर, जेनजी पुस्ताको व्यापक जनआन्दोलनले ओली सरकार ढल्यो । यससँगै शाक्यको पद पनि धरापमा परेको छ । ‘शाक्य आफैँले परिस्थिति बुझुन् र पद त्याग गरेर सहज मार्ग खुला गरून् भन्ने मन्त्रीको चाहना हो’ स्रोतले भन्यो ।
दक्षिण कोरिया भ्रमणमा रहेका शाक्य आजै स्वदेश फर्किन लागेका छन् । आन्दोलनको क्रममा शाक्यको निजी घरमा आगजनी समेत भएको थियो । ऊर्जामन्त्री घिसिङको सन्देशप्रति शाक्यको औपचारिक प्रतिक्रिया आइसकेको छैन ।








