बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव छैन, आपूर्ति प्रणाली चुस्त छ : महानिर्देशक ज्ञवाली

काठमाडौँ । जेन जी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति, उपलब्धताकाबारे अनेक अड्कलबाजी भइरहेका बेला सरकारले भने आपूर्ति प्रणाली चुस्तदुरुस्त रहेको र त्यस्ता उपभोग्य वस्तुहरूको अभाव नरहेको स्पष्ट पारेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजेश ज्ञवालीले जेन जी आन्दोलन र त्यसपछिको बजारको अवस्थालाई मध्यनजरमा राख्दै आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुहरूको उपलब्धतालाई नजिकबाट नियालिरहेको बताए ।

उनकाअनुसार अहिले मनशुसनको समय र चाडपर्व पनि नजिका छन् । बजारमा दैनिक उपभोग्य लगायतका सामग्रीहरूको आपूर्तिको व्यवस्थापनलाई अझ सहज पार्न अहिले दैनिक जसो स्टेक होल्डरहरू अर्थात् निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघसँग पनि छलफल भइरहेको छ ।

सरकारले वस्तुको उपलब्धताको स्थिति हेर्दा भन्सार नाकाबाट नेपालमा आउने सामानहरूको विगतको आयातको अवस्था र अहिलेको आयातको अवस्थालाई पनि गहिरोसँगै विश्लेषण गरेको महानिर्देशक ज्ञवाली बताउँछन् । आयातको अवस्था हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म खाद्यान्न लगायतका समग्रीहरु बढी नै आयात भएको छ । जसको कारण वर्तमान अवस्थामा दैनिक उपभोग्य लगायतका अत्यावश्यक वस्तुहरूको अभावको अवस्था नदेखिने उनको भनाइ रहेको छ । आगामी चाडपर्वको समयमा समेत बजारमा खाद्यपदार्थहरूको अभावको अवस्था नहुने उनले प्रस्ट पारेका छन् ।

स्टक पर्याप्त

महानिर्देशक ज्ञवालीकाअनुसार अहिले दैनिक उपभोग्य वस्तुको स्टक पर्याप्त छ । निजी क्षेत्रको अलवा सरकार स्वयमले आफ्ना साल्ट टे«डिङ, खाद्य संस्थान लगायतका निकायबाट केही खाद्यपदार्थहरू सरकारले स्टक राख्ने गरेको छ । अहिलेको स्टक हेर्दा चिनी, दाल, चामल, तेल, नुन लगायतको अत्यावश्यक खाद्य पदार्थ साल्ट टे«डिङसँग पर्याप्त मात्रमा छ ।

आयातको अवस्थाको विश्लेषण गर्दा धान, चामल, फलफूल, तरकारीजस्ता दैनिक अत्यावश्यक वस्तुहरू त्यो गत वर्षको परिणाम भन्दा बढी परिणाम भित्रिरहेको छ त्यसैले अभाव हुने स्थिति छैन ।

महानिर्देशक ज्ञवालीले भने ‘चाडपर्वको बेला उपभोक्ता बजारमा जाने र कारोबारहरू पनि बढी हुने गरेको छ । त्यतिबेला बजार हुनसक्ने अवाञ्छित गतिविधि हुनसक्ने सम्भावना हुन्छ । अहिलेको भर्खरै जेन जी आन्दोलन भर्खरै भएको र समय पेचिलो, फरक खालको भएकाले यसको फाइदा उठाएर बजारमा अभावको स्थिति सिर्जना गर्न सक्ने हुनसक्छन् । यसैलाई मध्यनजर गरेर वाणिज्य तथा आपूर्ति विभागले सार्वजनिक रुपर्मै आपूर्तिकर्ता निजी क्षेत्रलाई बजारमा अभाव सिर्जना गर्ने, समानहरू स्टक राख्ने, मूल्यवृद्धि गर्ने काम नगर्न भनिएको छ । उपभोक्तालाई पनि बजारमा खाद्य पदार्थको अभाव हुने अनुमानका आधारमा आफूलाई आवश्यक भन्दा धेरै खाद्य पदार्थ किनमेल गर्ने, सङ्कलन गर्ने र भण्डार गर्ने जस्ता गतिविधिहरू उपभोक्ताको तर्फबाट हुने गरेको र जसका कारण बजारमा अभाव हुनसक्ने भएकाले वाणिज्य विभागले उपभोक्तालाई बजारमा खाद्यान्न पदार्थको अभाव छैन, आवश्यक भन्दा बढी परिणाममा खाद्य पदार्थ सङ्कलन नगर्न भनेको छ । यस क्षेत्रमा क्रियाशील उपभोक्ताकर्मी, सङ्घ संस्थालाई यस विषयमा चनाखो रहन भनिएको छ ।’

महानिर्देशक ज्ञवालीकाअनुसार सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निजी क्षेत्रका छाता संगठन लगायत सरोकारवालाहरू छलफल भएको छ । छलफलमा निजी क्षेत्रको सबै छाता सङ्गठनले बजारमा अहिले अत्यावश्यक वस्तुहरूको अभाव नरहेको जानकारी गराएका थिए । यसबारे निजी क्षेत्र स्वयंले सार्वजनिक रूपमै आफ्ना धारणाहरू बाहिर ल्याएका छन् ।

निजी क्षेत्रले आफू अन्तर्गतका वस्तुगत सङ्घहरूलाई बजारमा अभाव सिर्जना नगर्ने, कालोबजारी नगर्ने, अवाञ्छित मूल्यवृद्धि नगर्ने, सहजपुरमा आपूर्ति व्यवस्थापन मिलाउने लगायतको सहजीकरण गरेको उनले बताए । चाडपर्वमा उपभोक्ता ठगीमा नपरुन् भन्ने हिसाबले सचेतना, सहजीकरण गर्ने र जनचेतना फैलाउने काम विभागले गरिरहेको छ ।

दसैँ लक्षित अनुगमन हुने

विभागकाअनुसार बजारमा सूचनाकाअनुसार कतै अवाञ्छित गतिविधि भए अनुगमनमा जाने तयारी छ । कार्ययोजना अनुसारको अनुगमनमा जाने, त्यस्ता खालका अवाञ्छित गतिविधि भएको देखिए कारबाही गरिने महानिर्देशक ज्ञवालीले बताए । उनका अनुसार अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने लगायतका कार्य उपभोक्ता संरक्षण ऐन विपरीत हुन् । त्यस्ता कार्य देखिए त्यसलाई नियन्त्रण गरिनेछ । कानुनको अधीनमा रहेर उच्चतम तहको कारबाही गरिने ज्ञवालीको भनाइ रहेको छ ।

महानिर्देशक ज्ञवालीले भने ‘खासगरी निजी क्षेत्र जो बजारमा उत्पादक, विक्रेता, आयातकर्ताका रूपमा क्रियाशील रहने गरेको छ र आम उपभोक्तालाई अहिलेको समय विषम परिस्थितिको समय रहेकाले चाडपर्वको समय समेत भएकाले आम सर्वसाधारणले उपयोग गर्ने दैनिक उपभोग्य खाद्य सामग्री लगायतका वस्तु र सेवामा कुनै प्रकारको अवाञ्छित क्रियाकलाप गरिनुहुँदैन । अभाव सिर्जना गर्दै अवाञ्छित गतिविधि भए त्यो मान्य हुनेछैन । स्टक राख्ने लगायतका काम गर्नु हुँदैन । सहज आपूर्तिका लागि निजी क्षेत्रले सहयोग गर्नुपर्छ र उपभोक्तालाई सेवा प्रवाह गर्नुपर्छ । बजारमा उपभोग्य वस्तुहरूको अभाव नभएको र आगामी दिनमा पनि नहुने भएकाले आवश्यक भन्दा बढी स्टक नगर्न अनुरोध गर्दछौँ । बजारमा उपभोक्ताले किनमेल गर्दा बिल लिने दिने गर्ने, म्याद ग्रुजेको हो होइन हेर्नुपर्छ ।’

यदि बजारमा त्यस्ता अवाञ्छित खालका गतिविधि भएका छन् भने कसैले सूचना दिए तत्कालै अनुगमन हुने उनको भनाइ छ । अनुगमनका लागि जनशक्तिको अभाव नरहेको, चाडपर्वको बेला एकीकृत तवरले बजारमा जाने रणनीति बनेको ज्ञवालीले बताए । एकीकृत रणनीतिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभाग लगायतका निकायहरूसँगको समन्वयमा बजार अनुगमन गर्ने विभागको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =