कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

भद्रपुर । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल भएका छन् झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू ।

दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गरेका थिए ।

सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र हरियालीसँग जोडिएका काम नियाले । स्वदेश फर्किएपछि त्यही रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने अठोटका साथ उनले नर्सरी स्थापना गरेका हुन् ।

“रोजगारीका सिरसिलामा लामो समय विदेश बसियो । पैसा कमाइयो, तर परिवारसँग बस्न पाइएन”, लिम्बूले भने, “आफ्नै देशमा केही गर्नुपर्छ भनेर कोरियामा हुँदै योजना बनाइसकेको थिएँ । अहिले परिवारसँगै बसेर आफ्नै रुचिको व्यवसाय गर्न पाउँदा आर्थिक आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । विदेशमा कमाएको अनुभव र पुँजी आफ्नै माटोमा लगानी गर्न पाउँदा गर्व लाग्छ ।”

एक वर्षअघि सुरु गरिएको नर्सरीले छोटो समयमै राम्रो व्यापार गर्न थालेको छ । यहाँ विभिन्न जातका मौसमी फूल, सजावटी बिरुवा, फलफूलका बिरुवा तथा घरआँगन हरियाली बनाउन प्रयोग हुने बिरुवा उत्पादन तथा बिक्री हुँदै आएका छन् । स्थानीय ग्राहकसँगै जिल्ला बाहिरबाट पनि माग बढ्दै गएको लिम्बू बताउँछन् ।

उनका अनुसार नर्सरीमा उत्पादन भएका बिरुवा अहिले झापामात्र नभई चितवन, धरान, इटहरी, विराटनगरलगायतका विभिन्न स्थानसम्म पुग्न थालेका छन् । व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास पनि बढ्दै गएको उनको अनुभव छ ।

“गुणस्तरीय बिरुवा उत्पादन गर्ने र ग्राहकलाई आवश्यक परामर्श दिने प्रयास गरेका छौँ”, उनले भने, “एकपटक बिरुवा लिएर सन्तुष्ट भएका ग्राहक फेरि पनि आउनुहुन्छ र अरूलाई पनि सिफारिस गर्नुहुन्छ । यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।”

लिम्बूको व्यवसाय सफल बनाउन सामाजिक सञ्जाल ‘टिकटक’ प्रभावकारी माध्यम बनेको छ । उनले नियमित रूपमा नर्सरीमा रहेका फूल, बिरुवा, तिनको हेरचाह गर्ने तरिका तथा नयाँ उत्पादनका भिडियो टिकटकमार्फत सार्वजनिक गर्दै आएका छन् । यसले नर्सरीको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको उनी बताउँछन् ।

“सदुपयोग गर्नेका लागि सामाजिक सञ्जाल निकै राम्रो प्लेटफर्म हो”, उनले भने, “टिकटकबाट हाम्रो नर्सरी धेरै मानिससम्म पुगेको छ । भिडियो हेरेरै धेरै ग्राहक नर्सरी खोज्दै आउनुहुन्छ । अनि कति ग्राहकले अनलाइनमार्फत ‘अर्डर’ पनि दिनुहुन्छ । अहिले मेरो लागि सामाजिक सञ्जाल व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको छ ।”

सुरुआतमा नर्सरीको संरचना निर्माण, बिरुवा उत्पादन र आवश्यक पूर्वाधार तयार गर्न करिब रु आठ लाख लगानी भएको लिम्बूले जानकारी दिए । यसमा सरकारी निकायले पनि साथ दिएको छ । यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ भद्रपुरबाट पुष्प नर्सरी स्थापना तथा पुष्प व्यवसाय कार्यक्रममार्फत ५० प्रतिशत अर्थात् रु चार लाख अनुदान प्राप्त भएको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भद्रपुरका प्रमुख रवीन्द्र सुवेदीले कृषि क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।

“वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफ्नो सीप, अनुभव र पुँजीलाई कृषि क्षेत्रमा लगानी गर्नु सकारात्मक कुरा हो”, सुवेदीले भने, “यस्ता उद्यमले स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै व्यावसायिक कृषि विस्तारमा पनि टेवा पुग्छ । सरकारको नीतिअनुसार कार्यालयले कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्न विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । इच्छाशक्ति र योजनासहित काम गर्ने किसान तथा उद्यमीलाई हामीले निरन्तर सहयोग गरिरहेका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twenty =